नेपालमा कोरोनामुक्त हुनेको संख्या बढ्दो, १२ हजार ४७७ ले जिते कोरोना, ७ जिल्ला संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९।३४ प्रतिशत निको भएका छन् ।

यसैबीच नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरीका विभिन्न आइसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।

क्वारन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..