
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ३ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणमा १०० जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
५ हजार ३ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेको उनले जानकारी दिए ।
१२ हजार ६ सय ८४ जनालाई कोरोना ठिक भएको उनले जानकारी दिए ।
कहाँ कति थपिए स्रक्रमित ?
डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जना संक्रमित थप भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना,स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना संक्रमित भएका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डोटीका ७ जना संक्रमित भएका छन् ।