पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त, हात हल्लाउँदै प्रेमिकाको गाडीमा चढे

काठमाडौं : सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्‍जन कोइराला डिल्लीबजार कारागारबाट रिहा भएका छन्। श्रीमती हत्या अभियोगमा जेल सजाय पाएका कोइराला सर्वोच्चले कैद छोट्याइदिएपछि बिहीबार जेलमुक्त भएका हुन्।

कोइरालाको जन्म कैदको सजाय सर्वोच्चले केही दिनअघि आठ वर्षमा झारेसँगै कोइराला छुटेका हुन्। जेलबाट छुट्ने क्रममा कोइरालाको स्वागतमा उनकी प्रेमिका तारा रेग्मी पुगेकी थिइन्। उनी जेलबाट हात हल्लाउँदै बाहिरिएका थिए।

डिल्लीबजार कारागारबाट छुटेका कोइरालालाई लिन उनकी प्रेमिका तारा रेग्मी कार लिएरै त्यहाँ पुगेकी थिइन्। तर कोइरालाको स्वागतमा उनको घरका अन्य कुनै आफन्त भने पुगेका थिए। रञ्‍जनकी श्रीमतीको हत्या अभियोगमा मतियारको भूमिका खेलेको पुष्टि भएपछि तारा पनि एक वर्ष जेल बसेर छुटेकी थिइन्।

श्रीमती गीता ढकालको हत्यापछि उनको शवलाई कोइरालाले टुक्रा टुक्रा पारेर फालिदिएका थिए। शव व्यवस्थापनसहितका काममा प्रेमिका तारा रेग्मी पनि खटिएकी प्रहरीको अनुसन्धानले देखाएको थियो।

श्रीमती हत्या प्रकरणमा पूर्वडिआइजी कोइरालालाई जिल्ला काठमाडौं र पुनरावेदन अदालत पाटनले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थिए। कोइरालाको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिने गरी दुवै तल्लो अदालतले फैसला सुनाएका थिए। यही असार १५ गते दुवै अदालतको फैसलाविपरीत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कैद घटाएर ८ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो।

सर्वोच्चले सजाय घटाउने क्रममा कोइरालाले पत्नी गीतालाई तत्कालीन आवेशमा आई हत्या गरेको देखिएको जिकिर गरेको छ। गीताको ज्यान गएपछि दुई छोराको हेरचाह, लालनपालन र पठनपाठनमा गम्भीर असर पर्ने भएको ठहरसहित सर्वोच्चले सजाय घटाएको जनाएको थियो।

यस्तो थियो घटना

सशस्त्र प्रहरीको डिआइजी पदमै हुँदा उनले पत्नीको हत्या जस्तो जघन्य अपराध गरेका थिए। सशस्त्र प्रहरीको आइजीका दाबेदारमध्ये एक कोइरालाले २०६८ पुस २७ गते पत्नी गीताको घाँटी थिचेर ज्यान लिएका थिए। काठमाडौंस्थित घरैमा पत्नीको हत्या गरेपछि उनले त्यही राति शवलाई मकवानपुरको एक गाउँमा लगेर जलाएका थिए।

त्यसपछि गीतको शव जलेको नजलेको बुझ्‍न उनी मकवानपुर पुगेका थिए। त्यही बेला शव जलाइएको स्थानबाटै गाउँलेले उनलाई समातेका थिए। तर त्यहाँबाट उम्किएका उनलाई काठमाडौं फिर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। कोइरालालाई पक्राउ गरी फागुन दोस्रो साता कर्तव्य ज्यान अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।

फागुन १४ मा पुर्पक्षका लागि थुनामा गएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७१ वैशाखमा पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै सर्वस्वससहित जन्मकैद सुनाएको थियो। त्यसबेला रञ्‍जनकी प्रेमिका तारालाई पनि मतियारका रुपमा एक वर्ष सजाय सुनाइएको थियो।

जिल्लाको आदेशलाई पुनरावेदन अदालत पाटनले पनि २०७२ मंसिरमा सदर गरेको थियो। तर सर्वोच्चले २० वर्षको सजाय ८ वर्षमा घटाइ दिएपछि रञ्‍जन डिल्ली बजार कारागारबाट हात हल्लाउँदै छुटेका हुन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..