महोत्तरीको बर्दिवासमा तरकारीको मूल्य बढ्यो

महोत्तरी । अबिरल बर्षाका कारण उत्पादनमा कमी आउँदा महोत्तरीको बर्दिवासमा तरकारीको मूल्य आकाशीएकोे छ ।

पानीले धेरैजसो तरकारीका लहरा तथा बोट पँहेलिएर चिचिला नष्ट भएको बर्दिवास नगरपालिका वडा नं. २ का किसान जागो महतोले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँका किसानले तरकारी बिक्री गर्ने बर्दिवासको तरकारी बजारमा अहिले सबै तरकारीको मूल्य बढेको छ ।

मूल्य बढ्दा किसानलाई राहत मिलेपनि उपभोक्ता भने मारमा परेका बर्दिवास नगरपालिका वडा नं.२ का उमिला सिंहले बताउनुभयो ।

बर्दिवास स्थित तरकारी बजारमा झरी पर्न सुरु नहुँदासम्म ८ देखि १० रुपियाँ प्रतिगोटा बिक्री भएको लौका अहिले ३० देखि ५० रुपियाँ, प्रतिकिलो १५ देखि १८ रुपियाँमा बिक्री भएको परवल ६० देखि ८० रुपियाँ, १० देखि १२ रुपियाँमा बिक्री भएको झिङ्नी ५० देखि ७० रुपियाँ सम्ममा बिक्री भइरहेको छ ।

वर्षा याममा तरकारीका बोटै गलेर नष्ट हुने गरेकाले मूल्य बढ्ने गरेको यस क्षेत्रका किसानहरु बताउँछन् । बर्दिवासमा किसाननगर, पशुपतिनगर , विजलपुरा, लालगढ लगाएतका क्षेत्रबाट किसानहरुले बिक्रीका लागि तरकारी ल्याउने गरेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..