समसायमिक राजनीति घटनाक्रम र पार्टीभित्रको अन्तरसंघर्ष – श्रीकृष्ण अधिकारी (बिबेक)

श्रीकृष्ण अधिकारी (बिबेक)

 

बहस हिजोको परम्परावादी संसदीय सुधारवादको गोलचक्कर काट्ने बहसको अर्थ छैन । वर्तमान संविधानको पूर्ण कार्यन्वयन, खाद्य संप्रभुता, सामाजिक न्याय, आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण, शिक्षा र स्वास्थ्यमा सरकारी करण, कृषिमा व्यवसायीक र आधुनिकी करण, दलाल नोकरसाही पुँजिवादका बिरूद्ध योजनावद्ध अभियानात्मक कार्यक्रमका लागि हुनुपर्छ । वैज्ञानिक समाजवादको वैचारिक, राजनीतिक, दार्शनिक, आर्थिक, सामाजिक, साँस्कृतिक र जन परिक्षणबाट निरन्तर खारिएको सुसंकृत कुशल नेतृत्वको सामुहिक टिम विकास र नेपाली समाजवादको मोडल कस्तो हुन्छ, रुमा केन्द्रित हुनुपर्छ । वैज्ञानिक समाजवदको नेपाली मोडल विकास गर्न अग्रगामी दिशामा केन्द्रित गर्नुपर्छ । बहस, पार्टी र सरकारको सुद्धिकरण र सुदृढी करणका लागि हुनपर्छ । बहस, आलोचना, आत्म आलोचना, आचरण सुदृढिकरण, रूपान्तरण र सुदृढ एकताका लागि हुन पर्छ । बहस, कार्य शैली सुधार सहित नेतृत्व तहमा ठोस कार्य विभाजन पूर्णताका लागि हुनपर्छ । बहस चिन्तन, शैली, प्रवृत्तिहरुको चरित्र किटान र रूपान्तरणका लागि हुनुपर्छ । कमिकमजोरिबाट सच्चिएर माथी उठेको नेतृत्व, रूपान्तरण सहितको एकतावद्ध सृदृढ र गतिशिल पार्टीका लागि ठोस छलफल र निर्णय आजको आवश्यकता हो ।

समसामयिक राजनीति घटनाक्रम र पार्टी भित्रको अन्तरसंघर्ष

नेपाको पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो तथा सर्वत्र चर्चाको शिखरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बनेको छ । कोरोना प्रकोप, बाढी पहिरो र डुबानका समस्या र भारतसँग सिमा विवाद थप पेचिलो बन्दै गएको छ । पार्टी विधि, विधान पद्दति र प्रणाली एकातिर नेतृत्वको तौरतरिका र कार्यशैली अर्कोतिर हुनुका कारण पार्टी अन्तरविरोधमा फसिरहेको छ । हाम्रो मुल नेतृत्वमा आफुले राम्रो काम गरेको देख्न नसकेर आफुलाई नेतृत्वबाट हटाउन विदेशी र पार्टीभित्रका नेताहरू षड्यन्त्रमा लागे भन्ने ठोस, तथ्य, प्रमाण र आधारहरू भेटिएको छैन । नेतृत्वको अभिव्यक्तिले एजेण्डा केन्द्रित भएर चलिरहेको स्थायी समिति बैठक रूमलिएको छ । प्रश्न जे जति उठेका छन् ती, नेतृत्वका, अभिव्यक्ति, तौरतरिका र कार्यशैलीसँग सम्बन्धित छ । इतिहासमा, ब्रिटिस इन्डिया पस्नु अगाडिकै शैलीको अनुसरण गर्दै, अहिले एमसीसी परियोजना मार्फत् रणनीति पोलीसीका साथ नेपाल छिर्ने ध्येयमा अमेरिका लागेको छ । हिजो माहाकाली सन्धिदेखि आज एससीसी परियोजना राष्ट्रहितमा देख्ने वर्तमान नेतृत्वसँग अमेरिका र भारत प्रधानमन्त्री हटाउने हदसम्म भड्किएका छन्, भन्ने लाग्दैन । महाकाली सन्धिबाट भारतले लाभ लिएकै छ । माहाकालीमा तैनाथ भारतिय सेनाको क्याम्प छँदैछ । मानसरोवर जोड्ने नेपाली भुभाग भित्र सडक खन्न रोक लागेको छैन । एकतर्फी बाँध भत्काउन परेको छैन । भारत बेखुसी हुनपर्ने कारण के छ र । नेपालको सरकारको नेतृत्व फेर्न षड्यन्त्र भयो भन्नेकुरा बनको बाघ भन्दा मनको बाघले बढी भयवित बनायो कि । नक्शा प्रकाशन र राम नेपालमा जन्मिएका हुन भनेको कुराले भारतिय मिडियाहरू अमर्यादितरूपमा उत्तेजनामा आएर तल्लो स्थरबाट अफाह फैलाई रहेका छन् । भारतिय मिडिया र हिन्दु धर्मालम्बीहरू अल्लि चिडिएको देखिन्छ उनीहरूको हामीले हाम्रो मिडिया मार्फत चिर्नु पर्छ । द्दोक्लाम भिडन्तपछि चीनसँग सिमा अन्तर विरोध चर्काउन अमेरिका भारतमा सैन्य साहयताको कुरा गरिरहेको छ । भारलाई उक्साउदै छ भन्ने समाचारहरू आइरहेका छ । अमेरिका चाईना ब्यापार अन्तर विरोध चर्कदै गएपछि चीन बिरूद्ध भारत र नेपाललाई उक्साउन उद्वेलित भइरहेको देखिन्छ ।
सरकारले नक्शा प्रकाशन गरेर राम्रो काम गरेको छ । पार्टी र सरकारको पहलमा भएको ऐतिहासिक निर्णयको सर्वत्र स्वागत भएको छ । पार्टी नेतृत्व, सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपालीहरूले धन्यवाद दिएकै छन् । जमिन फिर्ता ल्याउने मुख्य काम अझ, धेरै बाँकी छ । नक्शामा भएको जमिन नेपाल राज्यले भोगचलन गर्न कहिले पाउने हो । उत्तर सहज छैन । सिमानामा भारतिय पक्षले एकतर्फी, बाँध र ड्याम बनाएर नेपाल तर्फका तराई मधेसका दर्जनौ स्थानहरू डुवानमा परेका छन् । जनता घरवार बिहिन भएका छन् । यो समस्या कहिले सुल्झाउने हो । सहज छैन । दर्जनौं स्थानमा रातारात सिमा स्तम्भहरू सारेर सिमा मिचिएकै छन् । सिमानामा हाम्रा सुरक्षाकर्मी प्रहरी जवान र सिमानाका जनता कुटपिट, गाली, बेहिजतीमा परेका छन् । सिमा समस्या कहिले समाधान हुने हो । सहज छैन । १९५० लगायतका असमान सन्धि सम्झौता ज्युदै छन् । भारतसँग यी, यावत दर्जनौ ज्वलन्त समस्याहरू तत्काल हल गर्नका लागि कुटनीतिक पहल र वार्ताद्वारा समस्या समाधान गर्नतिर सरकारको पहल कहाँ पुगेको छ । ठोसमा जवाफ दिन सकेको स्थिति छैन । प्राथमिकता अहिले कुन हो । ग्रेटर नेपाल र भगवान राम अयोध्यापुरि चितवन नेपालका हुन भन्ने हो की आधार, प्रमाण र पुष्टि भएका बाढी डुवानका समस्या,जमिन फिर्ता लगायतका जल्ला बल्दा मुद्दा सल्ट्याउन वातावण बनाउन पहल लिन प्राथमिकता दिनु हो । कुन प्रश्न प्रधान हो । ब्यवहारमा ठोस पहल कदमी बिनाको राष्ट्रवादको भड्किलो नाराले कुटनैतिक वातावरण बन्न सम्भव हुन्छ कि हुदैन ? प्रश्न यहाँ हो । भारतसँग छिटो वार्ता गरी माथिका समस्या समाधान गर्ने काम र परिणामको राष्ट्रवाद आज र अहिलेको खाँचो हो । आक्रोश, आलोचना र विरोध जनताको स्थरबाट ठिक र जायज छ । नेतृत्वबाट अहिले व्यक्त विषयले कुटनैतिक परिपक्वता कायम गरी वार्ताको वातावरण बनाउन कति सहयोग पुगेको छ, भन्नेमा नेतृत्वको ध्यान पुगेनकी भन्ने हाम्रो चिन्ता हो । फेरिपनि कुरादेखि कुरासम्मको गोल चक्कर काट्ने परिमाण बिनाको राष्ट्रवादले हाम्रो आवश्यकता पूरा हुँदैन । हाम्रो आवश्यकता परिमाण सहितको राष्ट्रवाद आजको आवश्यकता हो । तथ्य, प्रमाण र आधारहरू नपुग्दै प्रधानमन्त्रीज्यूलाई पटक पटक विवादित बनाएर बोल्न लगाएर कमजोर पार्ने भड्काववादी सल्लाह कस्ले र किन दिन्छ ? प्रश्न जन्मिएको छ ।

फुटाउ र राजगरको तरिकामा माहिर साम्रज्यवादी र विस्तारवादी शक्तिहरूलाई सबैभन्दा टाउको दुखाईको विषय हो, कम्युनिष्टहरूको एकता । माक्र्सवाद फेल भयो भनेर डंकापिटिरहेको पुँजिवादी साम्राज्ववादीहरूले विश्वबाट कम्युनिष्टहरू विलायो भन्दै गर्दा नेपालमा सशस्त्र युद्ध लडेर आएको पार्टी, हिजो, एक आपसमा भिडेर एकले अर्कालाई चुनावमा हराई रहेका एमाले र माओवादी पार्टी मिलेर एकता गरेको उनीहरुको लागि आश्चर्य चकित अप्रत्यासित घटना थियो । कम्युनिष्टहरूलाई आपसमा लडाएर, फुटपारि कम्युनिष्ट प्रभाव कमजोर पार्ने सपनामा बिर्को लागेपछी उनीहरुमा छटपटाहट र बेचैनी पैदा भएकै हो । विगत दुई वर्षयता नेपालमा अमेरिकन गतिविधि अस्वभाविक रूपमा नेपालमा बढेको देखिएकै विषयमा हो । कम्युनिष्टलाई दमन गर्न भियतनाम पसेको अमेरिकन सेना भियतनामी जनताबाट लखेटिएर ठुलो नोक्सानी र हार ब्यहोर्नपरे देखि त्यसयता खासगरिकन सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएका कम्युनिष्ट नेतृत्व र शक्तिप्रति उनीहरु सकारात्मक भएको थाहा छैन । नेपालमा सशस्त्र जनयुद्धका हिसावले विचार निर्माणको दशक, सशस्त्र जनयुद्धको दशकमा उनीहरुले कम्युनिष्ट क्रान्तिकारिहरूलाई आतंकवादीको नजरले हेरेर व्यवहार गरे । पूर्व माओवादी शान्ति प्रकियामा आएर नयाँ संविधान निर्माण र वैधानिक नयाँ निर्वाचनको शान्तिपूर्ण प्रतिस्पर्धाको यो दशकसम्म आउँदा उनीहरू अझै, सन्देहकै घेराबाट हेर्दैछन्, भन्नेकुरामा कुनै भ्रम छैन । तीन दशक यताका अनुभवहरूबाट प्रष्ट छ । भारत र अमेरिकाको टाउको दुखाईको विषय कमरेड प्रचण्डनै हुँदै आउनु भएको छ । आज पनि अन्तर्यमा उहाँ नै उनीहरूको टाउको दुखाईको विषय हो भन्ने लाग्छ । अहिलेपनि नजर कमरेड प्रचण्डतिरै छ । प्रचण्ड, पार्टी र सरकारको मुल भुमिकामा पुग्न नपाउन भन्ने कामना उनीहरूले यो वा त्यो कोणबाट गरिरहेकै देखिन्छ । नेकपाभित्र अहिले सरकारको नेतृत्व हटाउन त्यति महत्व दिएका छन्, भन्नेकुरा सहि लाग्दैन । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारत थोरै असन्तुष्ट हुन सक्छ, बोल्दा कुटनैतिक मर्यादा ख्याल नपुगेकोमा भातको दुखेसो हुन सक्ला । त्यो, हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले राम्रोसँग महसुस गर्नु भएको हुनु पर्छ । आफ्नै पार्टी भित्रका सहयोद्धा कमरेडहरूलाई अराष्ट्रवादी देख्ने गम्भिर भुललाई भुलप्रति नेतृत्वबाट पक्षताप हुन पर्छ ।

जिविन्त पार्टी भित्र वैचारिक छलफल, बहस र एकता संघर्ष चल्छ चलिनै रहन्छ
दुई फरक स्कुलिङ, दुई फरक धारबाट गाईडेड हुँदै, हिजोको वर्ग संघर्षमा वर्ग संघर्षका फरक रूपहरू मध्ये, एउटाले सशस्त्र जनयुद्ध र अर्कोले शान्तिपूर्ण जनआन्दोलन चुनावी प्रतिस्पर्धाको राजनीतिक अभ्यास गर्दै, इतिहासमा परिवर्तनको संवाहक शक्तिमा दर्ज हुँदै विशाल शक्ति आर्जन गरि युगिन नाम राख्न सफल दुबै पार्टीहरू हिजो एक आपसमा लड्दा र मिल्दाको प्रत्यक्ष अनुभव र अनुभुती यति छिट्टै भुल्ने छुट इतिहासले दिएको छैन । कम्युनिष्ट शक्तिहरू फुट्दाको दुःख र मिल्दाको खुसि जनताले आफ्नो मतादेसबाट ब्यक्त गरिसकेका छन् । संघिय गणतन्त्रात्मक समाजवाद उन्मुख नयाँ संविधान निर्माण गरी गणतन्त्र संस्थागत गर्न आईपुगेका दुई ठुला कम्युनिष्ट पार्टीहरू एकआपसमा लडेर चुनावी मैदानमा जाँदाको परिणाम के आयो । २०६४ साल, २०७० साल र मिल्दाको परिणाम २०७४ सालको निर्वाचन परिणमले प्रष्ट गरेको छ । अहंकार र दम्भ पाल्दा जनताले कति बेला कसरी कस्तो स्वाद चखायो आदरणीय नेतृत्वगण भनिरहनु नपर्ला । हिजोको त्यही दम्भ र अंहकार नाथ्री किन रसाउन थाल्दै छ । हिजोलाई संझिएर नफुट, एकतावद्ध होउ, माक्र्सवाद लागु गरलाई स्मरण गरियो भने सहि ठाउँमा पुगिन्छ भन्ने लाग्छ । पार्टी एकता, पुरानो संसदीय यथास्थितिवाद मानेर भएको भ्रम कसैमा पनि पर्नु हुदैन । समस्याको गाँठो परेको विधि, पद्धति र कार्यशैली पालना ठिकसँग नभएर हो । जहाँनिर गाँठो परेको छ त्यहि निरबाट गाँठो फुकाउन छलफल सोझिएन भने नेकपाभित्रको छलफल हप्ता, महिना र बर्षदिन गरेपनी निकास आउँदैन । पुर्व एमाले र पुर्व माओवादी केन्द्र दुबै पार्टी विघटन भएर नेकपा बनेको २ बर्ष भयो । पार्टी एकता औपचारिकतामा सकार्ने । तर, ब्यवहारमा हाम्रो घरमा उनीहरू डेराबस्न आएका हुन् । हामी घर धनि हौं उनीहरू डेरावाल हुन जस्तो गरी मिनिमाइज गर्ने तरिकाले सोचेर एकता सुदृढ गरौं भन्नुको अर्थ के रहन्छ । निसंकुचन सहित हार्दिकता पूर्वक पार्टी एकताकै मुल्यमा आत्मसाथ गर्नैपर्छ । पुर्वरत दुईपार्टीहरू एकअर्को पुरानो पार्टीमा, प्रबेस गरेका होईन । एउटा पार्टीमा अर्को पार्टी बिलय भएका होईन । पुरानो दुबै पार्टी भत्काएर दुबै पार्टीका पूँजीलाई समेटेर नयाँ पार्टीको संस्थागत पूँजी मार्ग निर्देशक सिद्धान्त, मार्क्रसवाद, लेनिनवाद, न्युनतम कार्यक्रम जनताको जनवाद र अधिकतम कार्यक्रम समाजवाद र साम्यवादको लक्ष किटान गरी नेकपा बनेको हो । लाइन, दिशा र कार्यक्रममा आधारभुत समान बुझाईका आधारमा, नीतिगत रूपमा समान अस्थित्व स्वीकार गरी पार्टी एकता भएको हो भन्ने अन्तरहृदयी करण नगर्दासम्म पार्टी एकता सुदृढ हुँदैन

पार्टी एकताको मुल सहमति भनेको जेष्ठ २ गतेको सहमति हो । पार्टी एकता पुर्व दुई पार्टीले फरकरूपमा अवलम्बन गर्दै आएको जनताको बहुदलिय जनवाद २१ औं शताब्दीको जनवाद र माओवाद एकता महाधिवेशनमा छलफल गर्ने गरी स्थगित गरिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त माक्रर्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवाद र २१ औं शताब्दीको जनवादका सकारात्मक बिषयहरूलाई समेटेर तत्कालिन कार्यनीतिक कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ र अधिकतम रणनीतिक कार्यक्रमका रूपमा ‘वैज्ञानिक समाजवाद’ अन्तरिम बिधान र राजनीतिक प्रतिबेदनमा ठोस गरिएको छ । पार्टी एकता पछी नेकपाको पाँचौ औपचारिक बैठकका रूपमा नेकपाको स्थायी समिति बैठक बस्न सुरू भएको एक महिना बितेको छ । अहिले पार्टीभित्र नेतृत्वका बीचमा चलिरहेको बहस छलफल पार्टी एकताको घोषित, मूल्य, मान्यता, सहमती, समझदारी, विधि, विधान पद्धति तथा, संगठनात्मक प्रणालीलाई बुझ्ने र लागू गर्ने प्रश्नमा जुन मत भिन्नता देखिएको छ । बस्तुत पार्टी भन्दा आफुलाई माथी ठान्ने मनोगत प्रवृत्तिका कारण सिङ्गो पार्टी संकट र अन्योलको घेरामा पर्दै गएको छ । कम्युनिष्ट पार्टी मुलभुत रूपमा जनवादी केन्द्रियताको लेनिनवादी संगठनात्मक प्रणालीबाट परिचालन हुन्छ । संगठन परिचालनको लेनिनवादी पद्धती भन्दा उन्नत कम्युनिष्ट पार्टीको संगठन परिचालनको अर्को पद्धति विकास भएको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बहस, छलफलले ठोस,संश्लेसित आकार लिदै ठोस निचोडमा पुग्न नसक्नुका कारण मध्ये मुल कारण बहस छलफल लेनिनवादी संगठनात्मक पद्धति भित्रबाट भन्दा पनि आत्मकेन्द्रित गुट स्वार्थमा बाहिर र बाहिरै रूमलिदै गहिरहेको हो कि बैठकभित्र, एजेण्डा केन्द्रित बहस, छलफल गरि औपचारिक जनवादको जगमा औपचारिक निर्णय तिर जाने छाँटकाँट अझै देखिदैन । निकासका लागि नेतृत्वका बिचमा अनौपचारिक छलफल आवस्यक हुन्छ । तर, यो वान टु वान बार्ता, अनौपचारिक एजेण्डा भन्दा बाहिरको छलफल झन्झन् भाष्टमा फस्दै गएको होकी । धेरै समय नेतृत्वका बीच अनौपचारिक छलफलहरू घनिभुत हुने तर, निकासहिन अकर्मण्यतामा पर्नुले पार्टी र आम जनतामा राम्रो संप्रेषण परेको छैन । मुल नेतृत्व प्रष्ट हुनैपर्छ, कम्युनिष्ट पार्टीभित्र साम, दाम, डण्ड, भेदको कौटिल्य शास्त्र प्रयोग गरी कम्युनिष्ट पार्टी चल्दैन । माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्धतिमा टेकेर मात्र समस्याको हल र कम्युनिष्ट एकता र पार्टीको रक्षा र गतिशिलता सम्भव छ । विधिको पालना नेतृत्वबाटै हुनु पर्छ । समस्याको निकास नेतृत्वले नै दिनु पर्छ । समग्रको हितमा अंशको त्याग हरेक तहमा आवश्यक हुन्छ । कुशल नेतृत्व हो होइन भन्ने कुरा उसको डाडु पन्यौं चलाइको शैलीमा भर पर्छ । उसको आचरण र ब्यवहारमा भर पर्छ ।

अहिले, नेतृत्वले एकपटक पुन आफुले आफैलाई चिमोटेर हेर्न आवस्यक छ भन्ने लाग्छ । कमरेड केपी ओली र कमरेड प्रचण्डले संस्थागत रूपमा पार्टी एकता गर्ने फैसला गर्नु भयो । आदरणीय अध्यक्ष दुबै नेताले पार्टीमा हामीले एकता गर्न लाग्यौं भन्ने सन्देश दिनुभयो । उहाँहरु दुबै अध्यक्ष कमरेडहरूले पार्टी एकता गर्ने एकल निर्णयको प्रस्ताव दुवै पार्टीका नेता कार्यकर्ताहरूले सहर्ष स्विकार गरे । आदरणीय अध्यक्ष, कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्डले अध्यक्षद्वयले ‘हामीले पार्टी एकताबाट पछाडि फर्कन नसक्ने गरी पुल भत्काएर आयौ’ अब पछाडि फर्कने बाटो छैन भन्दै, २०७४ जेष्ठ २ गते पार्टी एकताको ७ बुँदे सहमति गरि पार्टी एकता भएको घोषणा भयो । आज पार्टी भित्रको अन्तरविरोध र छलफलको प्रकृति हेर्दा पार्टीको ध्येय, उद्देश्य, घोषित मूल्य, मान्यता, विचार, विधि, विधानको अवमुल्यन र पद, प्रतिष्ठा, अवसर म र मेराका लागि गुट स्वार्थको अघि आत्म मुल्याङ्कनको प्राविधिक बिषयमा केन्द्रित हुँदै गएको देखिन्छ । पार्टी एकताले पूर्णता पाएको छैन । केन्द्रीय, निकाय, प्रदेश निकाय र स्थानीय । पार्टी निकायमा पार्टी कमिटिहरू, भाृतसंगठनहरूले पूर्णता पाउन सकेको छैन । पार्टीमा तीन तिहाई भन्दा बढी नेता कार्यकर्ताहरूको कार्य विभाजन छैन । जिम्मेवारि छैन । बैठक, भेला, प्रशिक्षण छैन । वैचारिक र राजनीतिक छलफल र संगठन सुदृढीकरण, सुदृढिकरणको नाम निसान छैन । पार्टीको मुल नेतृत्वमा नै पार्टीको विधि विधान पालना अर्काका लागि हो । मेरो लागि होइन, भन्या जस्तो एकमनावादी सोच देखिन्छ । विचार प्रधान हुन पर्ने बहस किन प्राविधिक विषय प्रधान बनिरहेको छ । नेता कमरेडहरूको क्रिया, प्रतिक्रिया धारणा सुन्दा सिङ्गो पार्टी भविष्यको चिन्ता भन्दा व्यक्ति, स्वार्थको आत्मा सुरक्षामुखी भाब शैली र हाउभाउले किन प्रसय पाइरहेको छ । पार्टीको, विचार,विधि, विधान र प्रणाली स्थापित गर्ने विषय सहायक जस्तो पद, प्रतिष्ठा, गुट महत्वकांक्षा विषय प्रधान जस्तो बनाएर, विधि, विधान पद्दति केही होइन, व्यक्ति नै सर्वश्रेष्ठ हो । उनै विधान हो । विधि हो । भन्या जस्तो गरी एउटा कोणबाट छलफललाई जर्बजस्त मोडन खोजिदै छ । मनपरेको नेताको देवत्वकरण र मन नपरेको नेता राक्षसीकरण गर्न होड चलेको छ । बैठक भित्र बसेर छलफल गर्ने बिषयमा अरूची गुट भेला र सडक आन्दोलन रुचि बढ्दै गएको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा विज्ञान प्रति अविश्वास र अधिभुतवादी आर्दशवादमा विश्वास जनाउने प्रवृत्ति एकता विरोधी, अलगाववादी भडुवा प्रवृत्ति हो । पद, प्रतिष्ठा र गुट स्वार्थ केन्द्र बहस छाड्नु पर्छ । मुल नेतृत्वले मेरो गोरूको बारै टक्का भन्ने हठ छोडेर निकासको लागि लचकताको ढोका खोल्नु पर्छ ।

पार्टी भित्रको छलफलले ठोस रूपान्तरणको निचोड खेजेको छ:

‘विचार धारात्मक राजनीतिक कार्यदिशा सहि वा गलत हुनुका कारण नै सबै कुराको छिनोफानो हुन्छ ।’ चिनियाँ क्रान्तिका महान नेता, माओत्सेतुङ को यो भनाई समाजमा बर्ग र बर्ग संघर्षकारूपहरू रहदासम्म पार्टी र राज्यसत्ता सञ्चालनको प्रश्नमा कहिल्यै पनि पुरानो हुँदैन । पार्टी विपरितहरुको बीचको एकत्व र संघर्षको नियमबाट सञ्चालन हुन्छ । विपरित बर्गका प्रतिबिम्वहरूले पार्टी आन्तरिक जिवनमा प्रभाव पारिरहेको हुन्छ । पार्टिभित्र विचार संघर्ष भएन भने त्यो आन्तरिक जिवनको मृत्यु हुन्छ । राष्ट्र र जनताको हितमा पार्टीले एकता, संघर्ष र रूपान्तरणको विधिबाट विचार विधिमा वर्ग पक्षधरता प्रष्ट पार्दै, पटक पटक पुनर ताजकी गर्दै, अगाडि बढनु पर्छ । कम्युनिष्ट आन्दोलनको भबिष्य विनास वा विकास कतातिर लाने भन्ने प्रश्न प्रमुख कारण बाह्य पक्ष होइन, आन्तरिक कारण नै मुख्य र निर्णायक हुन्छ । अमेरिका भारत जोकोहीले चाहेर पनि कम्युनिष्ट पार्टी फुटाउन सक्दैन । मुख्यत आन्तरिक रूपमा कम्युनिष्ट चरित्रबाट च्युत भएर गैर कम्युनिष्ट चरित्र र पथभ्रष्ट भइयो भने तहस नहस भएर पतन हुनलाई धेरै समय लाग्दैन । स्मरण गरिनु पर्छ, ‘विचार धारात्मक स्पष्टतामा जोडदेउ’ ‘राजनीतिलाई केन्द्रमा राख’ । खुल्ला र स्पष्ट होउ, छलछाम र षडयन्त्र नगर । भन्ने माओको भनाई अहिलेको नेकपा भित्रको अन्तर संघर्षमा मनन गर्दै, आन्तरिक समस्याको मुल मर्ममा टेकेर छलफल सोझियो भने निकास सम्भव छ । पार्टी एकता सुदृढ हुन्छ । बाह्य सक्तिको चाहानाले केही लछार पाटो लगाउन सक्दैन ।

अदरणीय अध्यक्षद्वय, कमरेड, केपी शर्मा ओली र कमरेड प्रचण्ड ले स्थायी समिति र केन्द्रीय कमिटि बैठक बोलाउन विलम्ब नगरिकन बैठकबाटै समस्याको हल खोज्नु पर्छ । छलफलबाट पछाडि हट्न माथापक्षी गर्नेतिर होईन । अध्यक्षद्वयले पूर्व पार्टीको तत्कालिन बैचारिक कार्यदिशा बहुदलिय जनवाद र २१ औ सताब्दीको जनवादको विकसित सार संश्लेषित विषय समेटेर बनेको नेकपाको समाजवाद उन्मुख जनताको जनवाद कार्यदिशा, विधि, विधानबाट पछाडि हट्ने ठाउँ छैन । पछाडी फर्कने बाटो छैन । पछाडि फर्कन नसक्ने गरी पुल हिजै भत्काई सक्नु भएको छ । पछाडि फर्कनका लागी गरिने अर्थहिन बहस अब आवश्यक छैन । ब्यक्तिवादी समूह स्वार्थ भन्दा माथि उठेर सिङ्गो पार्टीको जीवन रक्षाका लागि सिष्टम, विधि पद्दति केन्द्रित छलफल र निर्णयमा जोडदिनु पर्छ । एजेण्डा केन्द्रिकृत छलफल, औपचारिक बैठकमै आदरणीय नेता कमरेडहरूले जोडदिनु पर्छ । सैद्धान्तिक, वैचारिक, दार्शनिक, राजनीतिक, आर्थिक,साँस्कृतिक र सांगठनिक सिष्टम, पद्दति, प्रणाली विकास र कार्य शैली सुधारका लागि अग्रगामी दिशामा बहस मोडिनु पर्छ । बहस, व्यक्तिपुजावादी सामन्ती र पुँजीवादी संस्कार भन्दा माथि उठेर गर्नु पर्छ । बहस, कम्युनिष्ट संस्कार र चरित्रमा टेकेर सामुहिक र संस्थागत प्रणाली स्थापितका लागि हुनु पर्छ । बहस, बहुदलिय जनवाद र २१ औं शताब्दिको जनवादमा फर्कने पश्चगामी पुरानो दिशामा होईन, समाजवाद उन्मुख जनताको जनवादको कार्यन्वयनको पूर्णताका लागि हुन पर्छ । बहस, पार्टीको मार्गदर्शक सिद्धान्त, मालेमावाद, समकालीन नेपाली कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षका क्रमबाट विकास भएका कमरेड मदन भण्डारी र कमरेड प्रचण्डका विचारमा टेकेर विचार सश्लेषण युक्त बहसमा जानुपर्छ । वर्तमान राजनीतिक उपलब्धीको जगबाट वैज्ञानिक समाजवादको मार्ग निर्देशक विचार संष्लेषणका लागि बहस सोझिनु पर्छ ।

बहस हिजोको परम्परावादी संसदीय सुधारवादको गोलचक्कर काट्ने बहसको अर्थ छैन । बर्तमान संबिधानको पुर्ण कार्यन्वयन, खाद्य संप्रभुता, सामजिक न्याय, आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण, शिक्षा र स्वास्थ्यमा सरकारीकरण, कृषिमा व्यवसायीक र आधुनिककरण, दलाल नोकरसाही पुँजिवादका बिरूद्ध योजनावद्ध अभियानात्मक कार्यक्रमका लागि हुनु पर्छ । वैज्ञानिक समाजवादको वैचारिक, राजनीतिक, दार्शनिक, आर्थिक, सामाजीक, साँस्कृतिक र जन परिक्षणबाट निरन्तर खारिएको सुसंकृत कुशल नेतृत्वको सामुहिक टिम विकास र नेपाली समाजवादको मोडल कस्तो हुन्छ रुपमा केन्द्रित हुनुपर्छ । वैज्ञानिक समाजवादको नेपाली मोडल विकास गर्न अग्रगामी दिशामा केन्द्रित गर्नुपर्छ । बहस, पार्टी र सरकारको सुद्धिकरण र सुदृढीकरणका लागि हुनपर्छ । बहस, आलोचना, आत्म आलोचना, आचरण सुदृढीकरण, रूपान्तरण र सुदृढ एकताका लागि हुन पर्छ । बहस, कार्यशैली सुधार सहित नेतृत्व तहमा ठोस कार्य विभाजन पूर्णताका लागि हुनपर्छ । बहस चिन्तन, शैली, प्रवृत्तिहरुको चरित्र किटान र रूपान्तरणका लागि हुनुपर्छ । कमी कमजोरीबाट सच्चिएर माथी उठेको नेतृत्व, रूपान्तरण सहितको एकताबद्ध सृदृढ र गतिशिल पार्टीका लागि ठोस छलफल र निर्णय आजको आवश्यकता हो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..