छैनन् यसवर्ष बोलबम यात्री, पूर्व–पश्चिम राजमार्ग सुनसान

महोत्तरी । हरेक बर्ष साउन महिनाको आईतवारदेखी मंगलवारसम्म श्रद्धालु भक्तजनहरूको भिड हुने महोत्तरीको बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्ग यसवर्ष सुनसान छ ।

सिरहाको कमला नदीबाट जल लिएर महोत्तरीकोे बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ मन्दिरमा जल चढाउन र दर्शन गर्न आउने स्वदेशी तथा भारतीयहरूले गर्दा पूर्व–पश्चिम राजमार्गमा थेगी नसक्नु भीड हुन्थ्यो । तर यस वर्ष कोरोना संक्रमण त्रासका कारण राजमार्ग क्षेत्र सुनसान छ ।

कोरोनाका कारण सीमा नाका बन्द छ भने जिल्ला प्रसाशन कार्यालय महोत्तरीले बर्दिवास नगरपालिकालाई मन्दिरमा मेला, बजार नलगाउन तथा जल नचढाउन र भिडभाड नगर्न परिपत्र गरेपछी भारतीयहरू र स्वदेशी तथा स्थानीय बोलबमका श्रद्धालुहरू राजमार्गमा देखिएका छैनन् ।

अघिल्ला वर्षहरूमा साउन महिनामा राजमार्गमा आईतवारदेखी मंगलवारसम्म मानिसको भीड व्यवस्थापन गर्न महोत्तरी प्रहरीलाई हम्महम्मे पर्ने गरेको थियो । पैदल, मोटरसाइकल, साना अन्य गाडी तथा ट्याक्टरमा समेत हजारौैँको संख्यामा मानिसहरू टुटेश्वर मन्दिरमा दर्शन गर्न आउने गरेका थिए ।

यसैगरी हरेक वर्ष साउन महिनाभर श्रद्धालुको अत्यधिक भिड हुने सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा पनि यसवर्ष भीडभाड छैन । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा जल लिन आउने भारतीयहरुले गर्दा पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलङ्गवा सडकमा भिडभाड हुने गरेको थियो ।

तर यस वर्ष अहिले सीमा नाका बन्द रहेकाले भारतीयहरू जल लिन बाग्मती आउन नपाएका हुन् । जिल्लाभित्रैका बासिन्दा भने थोरै संख्यामा जल लिन पुगेका छन् । नवलपुर–मलंगवा सडक हुँदै दक्षिणी भेगहरुबाट जल लिनका लागि जिल्लाकै श्रद्धालुहरू बाग्मतीमा पुगेका स्थानीयले बताएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..