नेकपा स्थायी समिति बैठक आज बस्दै, विगतमा जस्तै नरोकिने नेताहरुको दावी

नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी विवाद टुङ्ग्याउने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकको समय बिहान ११ बजे निर्धारण गरे पनि बस्नेनबस्ने निश्चित भने छैन ।

विवाद जस्ताको तस्तै छ । दुवै पक्ष आआफ्नो अडानमा टसमस भएका छैनन् । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा पुगेको छ ।

बहुमतका आधारमा स्थायी समितिमा निर्णय गरेर अघि जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष छ भने बहुमतकै आधारमा राजीनामाको प्रस्ताव पारित गर्न नदिने रणनीतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक नरोक्ने र प्रधानमन्त्री सहमतिमा नआए पनि बैठक अघि बढाउने हिजो सहमति गर्नु भएको छ । वरिष्ठ नेता खनालले आजको बैठक नरोकिने बताउनु भएको छ । हिजो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड र नेपाल पक्षका नेताहरूको छुट्टै बैठकले आजको बैठक नरोक्ने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री एवम अर्का अध्यक्ष ओलीले पनि हिजै आफू निकटका केही नेताहरूसँग छलफल गर्नुभएको छ । सीआईएनसँग कुरा गर्दै नेकपा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ्ले पनि दुई नेताबीचमा सहमति भइसकेकाले आजको बैठक नरोकिने बताउनुभयो ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका लागि भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..