
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय (हेडक्वार्टर)मै ३५ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा थप ८ जनामा संक्रमण देखिएपछि संक्रमित प्रहरी कर्मचारीको संख्या ३५ पुगेको हो ।
प्रहरी प्रधान कार्यालयमा पहिलोपटक आइतबार ४ जना कर्मचारीमा संक्रमण देखिएको थियो । त्यसपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको नमूना संकलन गरी परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको थियो ।
यस्तै, मंगलबार गरिएको परीक्षणका क्रममा थप ८ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।
कोरोना भाइरसको संक्रमण देखिने प्रहरी कर्मचारीमा अधिकांश सवारी शाखाका छन् । संक्रमितमध्ये प्रहरी सहायक निरीक्षक (असई) १ जना, हवल्दार ६, जवान २६ जना र कार्यालय सहयोगी २ जना छन् ।
प्रहरी प्रधान कार्यालयसहित देशभर गरी करिब २ सयको हाराहारीमा प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये करिब १०० जना संक्रमण मुक्त भइसकेका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।