
महोत्तरी : कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक र २ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड-१९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताउँदै त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिए ।
केही दिनअगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका-३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिए ।
नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ । त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित हुनुभएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । । उनी केही दिनअगाडि मात्रै वीरगञ्जबाट आउनुभएको थियो भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आउनुभएको फोकल पर्सन झाले जानकारी दिए ।
त्यसैगरी भारतबाट आएका बलवाका १ जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भने, ‘योसहित अहिलेसम्म जिल्लामा आठ सय ५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’
उनले कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका-३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका पत्नी र छोरासहित ७ जना कोरोना पोजिटिभ फेला परेको जानकारी दिए । यहाँ ४२ जनामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।