नेपाली कांग्रेस असन्तुष्ट पक्षले दियो सभापति देउवालाई लिखित असहमति

साउन १५, काठमाडौँ — नेपाली कांग्रेस असन्तुष्ट पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटरै लिखित ध्यानाकर्षण गराएको छ । उक्त ध्यानाकर्षणलाई सभापति शेरबहादुर देउवाले वास्ता नगरेपछि असन्तुष्ट पक्षले आज ३ बजे पत्रकार सम्मेलन धारणा सार्वजनिक गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले सभापति देउवालाई बिहीबार बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्न, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउन, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिन, विदेशस्थित जनसम्पर्क समितिका विवादहरुलाई निष्पक्ष रुपमा हल गनुपर्ने लगायतका विषय छन् ।
‘यी विषयमा हामीले सभापतिलाई औपचारिक रुपमा लिखित ध्यानाकर्षण गराएका छौं, निर्वाचनलाई निष्पक्ष र विश्वासयोग्य बनाउनका लागि कुराकानी भएको छ, यसलाई टुंगोमा पुर्‍याउन हामी लाग्नेछौं,’ एक केन्द्रीय सदस्यले भने ।

भेटमा असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक गर्ने वातवरण निर्माणका लागि पार्टीका केन्द्रीय विभाग र निकायमा भइरहेका मनोनयन तत्काल रोक्नुपर्ने माग गरेका छन् । पार्टीको केन्द्रीय महाधिवेशनसहित तल्ला तहका अधिवेशनहरुको तिथि घोषणा भइसकेपछि विभागमा संयोजक तोक्ने, सदस्यहरु मनोनयन गर्ने र पार्टीका अन्य निकाय समेत गठन गर्ने काम भइरहेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको थियो । यसअघि पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित रुपमै विरोध जनाएका थिए ।

दुई पक्षबाट करिब एक घन्टा कुराकानी भएको थियो । सभापति देउवालाई लिखित पत्र बुझाउन जाने क्रममा पौडेल पक्षबाट केन्द्रीय सदस्यहरु रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईं र जीवन परियार सहभागी थिए भने देउवाले पनि त्यसक्रममा उपसभापतिद्वय, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णवहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रवहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतलाई राखेर छलफल गरेका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..