
काठमाडौं । सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने यात्रुमा चेकजाँचका क्रममा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको भन्दै बिहीबारदेखि लागू हुने गरी रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गृहले गरेको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा ‘अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आजबाट लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेबाट बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गराउने’ भनिएको छ ।
गृहले नाकाहरूको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक कामममा बाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न गृहले निर्देशन दिएको छ ।
त्यस्तै, विनापास अन्तरजिल्ला आवागमनमा पूर्ण रूपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । लकडाउन खुलेपछि आवश्यक मापदण्ड पालना नगरेका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै गृहले दिउँसोको समयमा पनि थप कडाइ गर्ने भएको छ ।