विश्वका विभिन्न मुलुकमा नयाँ वर्ष मनाउने यस्ता छन् आ–आफ्नै तरिका

— रोमन ग्रीक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाँ वर्ष मनाउने परम्परा भेटिन्छ । ब्रिटिस म्यूजियम लण्डनबाट प्राप्त पुरानो अरबी सोधपत्रअनुसार आजभन्दा हजारौं बर्ष पहिले नील घाँटीको सभ्यताका मानिसहरू नववर्षको पूर्व सन्ध्याको रात्रिमा सामूहिक भोजको आयोजना गरी आपसमा नाचगान बजानको साथ नववर्षलाई स्वागत गर्दथे ।

— बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । ब्रिटिसको पुरानो ऐतिहासिक ग्रन्थअनुसार त्यहाँको केही आदिवासीहरू पुरानो वर्षको अन्तिम दिन छिमेकमा सबै मानिस एकै ठाउँमा भेला भएर आ–आफ्नो इष्टदेवता र मुख्यतया सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ । ती आदिवासीहरू नयाँ वर्षको सूर्योदय नहुञ्जेल सूर्यकै पूजा एवं उपासना गरेर नयाँ वर्ष मनाउँछन् ।

— स्कटल्याण्डमा नववर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरूष वा नारीको प्रवेशलाई अशुभ ठान्छन् भने अग्लो र कालो केश भएका नारी वा पुरूषको आगमन भएमा शुभको प्रतीक मान्छन् । साथै सुख–समृद्धि र सफलताको शुभकामना आदानप्रदान गर्छन् । आयरल्याण्डमा पनि यसैगरी नै मनाउने चलन छ ।

— चीनमा नववर्षको एक साता अगावै आतिशबाजी गरिन्छ र यो पुरानो मान्यतासँग सम्बन्धित छ । उनीहरू भान्छाघरमा देवता रहेको ठान्छन् । देव–देवताले वर्षभरि एक परिवारको गतिविधिहरू टिप्छन् र वर्षको अन्तिम दिनमा भगवान्लाई बुझाउँछन् भन्ने धारणा छ । नयाँ वर्षको प्रारम्भ साथै देवता पुनः फर्किन्छन् त्यसकारण यी देवताको विदाई र स्वागत गर्न आतिशबाजी गर्छन् । नयाँ वर्षको दिन चिनियाँहरू रातभर जागा बसेर आमा, बाबु तथा गुरूको आशिर्वाद लिनको साथै स्वादिष्ट भोजन गर्छन् ।

— कोरियामा नयाँ वर्ष मनाउनको लागि ३ दिन सरकारी बिदा दिने चलन छ । नववर्षको दिन त्यहाँका सबै पसलहरू बन्द रहन्छन् । यस दिन तिनीहरू चामलको रक्सी (सूल) र चामलको रोटी (तककुक) अनिवार्यरूपमा खाने खुवाउने गर्छन् । यसो गरेमा १ वर्ष आयु बढ्छ भन्ने विश्वास छ ।

— थाइल्याण्डमा नयाँ वर्षको दिन घरहरू सफा सुग्घर राख्छन् र राति दिपावली गर्छन् । बौद्ध मन्दिरमा गई पूजा प्रार्थना गर्छन् साथै मीठामीठा परिकार खाने र सुगन्धित जल एक–आपसमा छर्कि मंगलमय कामना गरी महान पर्वको रूपमा मनाउँछन् ।

— जापानमा आफ्ना घर वरिपरि हरिया वृक्षहरू सजाई शुद्ध जलको प्रयोग गर्दछन् । मान्यजनहरूबाट आशिर्वाद लिने, बृद्धको पूजा–आराधना गर्ने साथै चङ्गा उडाउन शुरू गरी एकआपसमा शुभकामना आदान–प्रदान गर्छन् ।

— इण्डोनेशियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्दछन् । यस दिन नयाँ नयाँ लुगा लगाउने, मीठामीठा खानेकुरा खाने र शुभकामना आदान–प्रदान गर्छन् ।

— मेक्सिकोको जनजातीय इलाकामा यस दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने चलन छ । अष्टे«लिया र न्यूजिल्याण्डमा शुभकामनापत्र आदान–प्रदान गरी विभिन्न उत्सव मनाउने परम्परा छ भने अफ्रिकामा यस दिन युवा–युवतीबीच सामूहिक विवाह गर्ने चलन छ ।

— जर्मनीमा नववर्ष मनाउने तरीका केही बेग्लै छ । यहाँ नववर्षको दिन पानीले भरिएको धातुको भाडामा सिक्का (मुद्रा) खसालेर ज्योतिषीहरूले भविष्यवाणी गर्ने चलन छ ।

— भ्याटिकन सिटी रोममा नववर्षको पहिलो विहान आकाशमा सेता परेवा उडाउने र चर्चको हातामा ठूलो केक काटेर बाँड्ने चलन छ । पोर्चुगलमा भने नववर्षको दिन साँढे जुधाउने साथै शहरभरि धुनी जगाएर, पटाका बाजी गरी धुमधामसँग मनाउँछन् भने स्पेनमा अंगुर खाएर नववर्ष मनाउने चलन छ ।

— मंगोलियामा नववर्षको दिन रातभरि जागा बस्ने र आमा, बाबु तथा मान्यजनबाट आशिर्वाद लिई मिठामिठा भोजनगरी मनाउँछन् ।

— कुवेतमा नववर्षको दिन रातभरि दिपावली गर्ने साथै शुभकामना आदान प्रदान गरी नाचगान गरेर मनाइन्छ ।

— इरान, इराक, तथा अरबी मुलुकमा नववर्षलाई ‘नौरोज’ भनिन्छ । यसदिन तिनीहरू गहुँ तथा जौको हरियो अंकुर भएको भाडाको वरिपरि ऐना, पूmल, मैनवत्ती र रोटी राख्छन् । यसलाई उनीहरू शुभसंकेतको रूपमा मान्छन् । राति दिपावली गरी त्यसको प्रकाशमा उत्साह मनाउँछन् ।

— भारतमा भने विभिन्न ठाउँमा विभिन्न प्रकारले नववर्ष मनाइन्छ । बंगालमा देवी–देवताको पूजा, रविन्द्रसंगीत र हाँसखेल, ठट्टा तथा नाचगान गरी मनाउँछन् । कुमाउँ र गढवालमा यसदिन पहेलो लुगा लगाई आफ्नो बन्धुजनलाई उपहार प्रदान गर्छन् । आसाममा पशुको पूजा गर्छन् । पंजावमा झांगडा नृत्यको आयोजना साथै गणेश र लक्ष्मीको पूजा र नाचगान गरी मनाउँछन् । महाराष्ट्रमा आफ्नो घरको धुरीमा रेशमी ध्वजापत्ताका र रङ्गीविरङ्गी पूmलहरूले सजाउँछन् । राजस्थानमा मिठामिठा खानेकुरा खाने खुवाउने गर्छन् । जनजाति विशेषमा आफ्नो मन नपरेको जीवनसाथी भए पारपाचुके गरी नयाँ जीवनसाथी रोज्ने चलन छ ।

—बर्मामा नव वर्षलाई ‘विजान’ भन्दछन् । यसदिन बर्मेलीहरू शानित र सुख–समृद्धिका लागि भगवान् बुद्धको पूजा आराधना गर्ने चलन छ । यिनीहरू नववर्षलाई फागू खेली नाचगान गरी स्वागत गर्दछन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..