ठूला किसान विद्राेहकाे नेता क. तुलसीलाल अमात्य – प्रधानमन्त्री ओली

कमरेड तुलसीलाल अमात्यकाे २३ औ स्मृति दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा आेलीले जारी गर्नुभएकाे श्रद्धाञ्जली वक्तव्य –

हार्दिक श्रद्धाञ्जली
नेपाली कम्युनिस्ट आन्दोलनका अविश्रान्त योद्धा, नेपाल कम्युनिस्ट पार्टीको पहिलो संसदीय दलका नेता, नेपालको ऐतिहासिक किसान आन्दोलाका अगुवा कमरेड तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

तुलसीलाल अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिस्ट नेता हुनुहुन्थ्यो । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिस्ट घोषणा पत्र जारी गर्दा उहाँ पनि सहभागि रहनु भएको थियो । २००८ सालमा स्थापना भएको अखिल नेपाल किसान संघको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । वि.सं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उहाँले गर्नु भएको थियो । लाखौं किसान सहभागि रहेको ऐतिहासिक किसान आन्दोलनमा बारा, पर्सा र रौतहटमा किसानहरुलाई सामन्तहरुले गराएका तमसुक जलाएर उहाँकै नेतृत्वमा किसानहरुलाई ऋणमुक्त गराइएको थियो । कम्युनिस्ट आन्दोलनलाई आधारभूत तहको किसान आन्दोलनको जगमा विकास गर्न उहाँको विशेष भूमिका छ । यस अर्थमा कमरेड तुलसीलाल अमात्यलाई नेपालको किसान आन्दोलनका संस्थागत विकासकर्ताका रुपमा स्मरण गर्न चाहन्छु ।

२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा उहाँले ललितपुरबाट नेपाल कम्युनिस्ट पार्टीको सांसद भई संसदीय दलको नेतृतत्व गर्नु भएको थियो । तत्कालीन संसद्को राष्ट्रिय सभामा सहित ५ सिट रहेको कम्युनिस्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि तुलसीलाल अमात्यको स्मरणीय योगदान छ । २०१९ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट उहाँ पार्टीको महासचिव चुनिनु भयो । त्यसयता विभाजित रहेको नेपाली कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ । तुलसीलाल अमात्यको जुन राजनीतिक उद्देश्य थियो, त्यसलाई आज हामीले धेरैहदसम्म पूरा गरेका छौं ।आर्थत् आज हामीले उहाँ लगायत अग्रजहरुकासपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँ ।

तुलसीलाल अमात्य लगायतका पहिलो पुस्ताका नेताहरुले पसिना सिंचेर निर्माण भएको यस पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं । पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । समानतालाई समृद्धिसँग जोडर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौं । जनताको जीवनमा समृद्धि सहितको समानता हासिल गरी हामीले तुलसीलाल अमात्यका योगदानलाईचिरस्मरणीयबनाउनु पर्नेछ ।

अन्त्यमा, २३ औं स्मृति दिवसका अवसरमा कमरेड तुलसीलाल अमात्यप्रति पुनः हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..