स्वीकृति बिनै गोसाइकुण्ड पुगे तीर्थालु, लुकीछिपी नजान प्रशासनको निर्देशन

नुवाकोट । जनैपूर्णिमाको अवसरमा प्रसिद्ध गोसाइकुण्डमा यस वर्ष औपचारिक रुपमा मेला नहुने भएको छ ।

विश्ववयापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण बढिरहेका कारण प्रसिद्ध गोसाईकुण्ड मेला यस वर्ष नहुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाले विशेष सूचना जारी गर्दै संक्रमण जोखिमलाई न्यूनीकरण गर्न यसवर्ष गोसाईंकुण्ड मेला आयोजना नहुने जानकारी गराएको छ । यसका बाबजुद पनि कतिपय भक्तजन गोसाईकुण्ड गइरहेका छन् ।

संक्रमणको जोखिम बढेका कारण यसवर्ष मेला नभर्न सर्वसाधारणलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ । गोसाइकुण्ड हिँडेका भक्तजनलाई रसुवा प्रवेशबिन्दुबाटै फर्काइएको पनि जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यसअघि नै कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जनैपूर्णिमाको अवसरमा लाग्ने यस वर्षको गोसाईकुण्ड मेला सञ्चालन नहुने निर्णय भइसकेको छ ।

गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न सवारी पास लिनुपर्ने, आगामी भदौ १ गतेबाट मात्र सार्वजनिक सवारी सञ्चालन हुने र सरकारले धार्मिक मेला सञ्चालन नगर्न आग्रह गरेकाले मेला स्थगित गरिएको जनाएको छ ।

समितिका अध्यक्ष सञ्जिव डिएमले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको बताउनुभयो । गोसाईकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको सन्दर्भमा विशेष मेला लाग्ने गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..