कोरोना नियन्त्रणका सन्दर्भमा मैरै पार्टीमा गैरजिम्मेवारपन देखिएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आफ्नै पार्टीमा गैरजिम्मेवारपन देखिएको बताएका छन् ।

कोरोना नियन्त्रणका सन्दर्भमा केही मानिस, व्यक्ति र संस्थामा अत्यन्तै गैरजिम्मेवारपन देखिएको उल्लेख गरेको प्रधानमन्त्री ओलीले त्यस्तो अवस्था आफ्नो पार्टी नेकपामा पनि रहेको बताए ।

‘केही मानिस, व्यक्ति र संस्थामा अत्यन्त गैरजिम्मेवारपन देखियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यथार्थमा भन्दाखेरी अन्त खोज्न गइरहनु पर्दैन । मेरै पार्टीमा देखिन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिने छैनौं हामीले भन्यौं । मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो, के गर्ने हो त्यसको सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा मेरै पार्टीका साथीहरुको छ । स्थायी कमिटी बैठक अहिल्यै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो भनिएको छ ।’

प्रधानमन्त्री ओलीले देशप्रतिको, जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही र बेवास्ता गर्ने प्रवृत्ति, आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्तिहरु निकै व्यापक रुपमा देखिएको पनि बताए ।

‘यो अन्त पनि देखिएको छ । सञ्चारमाध्यमहरुमा देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश यस्तो संकटमा भएको बेला, यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमका रुपमा प्रयोग गरिएको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा सरकारले गरेका कामको विनाकुनै आधार विरोध भइरहेको पनि बताए ।

‘रोकेन भने किन रोकेन भन्ने, रोक्यो भने किन रोक्यो भन्ने । क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘लकडाउन गरेन भने किन गरेन भन्ने गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने ।’

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..