फेरि दुई साता लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्रीलाई दिए सुझाव

काठमाडौं । जनस्वास्थ्यसँग सम्बन्धि विज्ञले नेपालमा कोरोना संक्रमितहरु थपिइरहेकोले पुन लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीले आयोजना गरेको कोभिड–१९ को वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग गरेको परामर्शका क्रममा उनीहरुले कम्तिमा २ साताका लागि लकडाउन गरेर कोरोना महामारी नियन्त्रण गर्न सुझाव दिएका हुन् ।

छलफलमा विज्ञसहित प्रतिपक्षी दलका नेताहरुको सहभागीता रहेको थियो ।

छलफलमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।

‘कोरोना महामारी जटिल अवस्था तर्फ उन्मुख रहेको र यही अवस्था जारी रहे अवस्था भयावह हुने भएकाले २ हप्ता लकडाउन गर्न विज्ञ र हामीले सुझाव दियौं’ ठाकुरले भने,‘लकडाउन गरेर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ, होइन भने लकडाउन मात्र विकल्प होइन ।’

विज्ञ र प्रतिपक्षी नेताहरुको कुरालाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिएको उनले बताए ।

‘प्रधानमन्त्रीले यसबारे थप छलफल गरेर टुंगोमा पुग्छु भन्नु भएको छ’ ठाकुरले भने ।

ठाकुरले यसअघि लकडाउन गरेको भएपनि सरकारले प्रभावकारी काम गर्न नसकेको कारण कोरोना संक्रमण नघटेको बताए ।

लकडाउन गरेपनि सरकारले योजनावद्ध रुपमा काम गर्नुपर्ने बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझावलाई ग्रहरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..