अनशनरत युवा इनफ इज इनफसँग वार्ता गर : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

सरकार स्वयंले अघिल्लो अनशनमा गरेको सम्झौता पालना गर्न माग गर्दा सरकार गम्भीर नदेखिनु अत्यन्तै दुस्खद भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता विश्वप्रकाशद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो ।’ कांग्रेसले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक रुपमा बढेको चुनौती सामना गर्ने ढंगले नयाँ रणनीति तयार गर्न पनि सरकारसँग माग गरेको छ ।

जनताको जीवनरक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको कांग्रेसको आरोप छ । जनताले महसुस गर्ने गरी काम नगरेकाले सरकारविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु पनि स्वाभाविक नै भएको प्रवक्ता शर्माले बताए ।

केही समययता इनफ इज इनफ अभियानले कोरोना परीक्षणको दायरा बढाउनेलगायतका माग गरेर प्रदर्शन र अनशन कार्यक्रमलाई जारी राखेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..