दशैंसम्म अयोध्यापुरीमा भव्य राम मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन

दशैंसम्म अयोध्यापुरीमा भव्य राम मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म चितवनको माडी स्थित अयोध्यापुरीमा भव्य राम मन्दिर बनाउँन स्थानीय प्रतिनिधीमण्डललाई निर्देशन दिएका छन्।

राम जन्मस्थलबारे छलफल गर्न चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौं बोलाएका प्रधानमन्त्री ओलीले शनिवार साँझ बालुवाटारमा २ घण्टा छलफल गरेका हुन।

स्थानीय प्रतिनिधीमण्डलको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले दशैंसम्म भव्य राममन्दिर बनाउँन निर्देशन दिएका छन्।

भगवान श्रीरामको जन्मभूमि नेपालको अयोध्यापुरीमै रहेको बताउँदै प्रधानमन्त्री ओलीले भव्य मन्दिर बनाउन निर्देशन दिनुका साथै अध्योध्याधामको बृहत् योजनाका साथ काम शुरु गरिहाल्न निर्देशन गरेको माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन्।

उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायतका काममा सरकारको तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरिन।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको भन्दै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने प्रधानमन्त्रीसमक्ष माग राखेका थिए ।

स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाएको उपप्रमुुख महतोले जानकारी दिइन्।

केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको भन्दै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिने बताएका थिए। सो अवसरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए।

प्रधानमन्त्री ओलीले यसअघि हिजो माडीको अयोध्यापुरीबारे अध्ययन अघि बढाउन स्थानीय जनप्रतिनिधीलाई टेलिफोन मार्फत आग्रह गरेका थिए।

प्रधानमन्त्रीले गएको २९ असारमा भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने बताएका थिए। माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ।

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएका थिए।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..