काठमाडौं महानगरले पाँच हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यका स्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने बताएका छन्।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उपत्यका नगरपालिकाहरूको समवन्य र सहभागितामा आगामी १ हप्ताभित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिए।

बुधबार शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्न गरेको निर्णयको पनि स्वागत गरेका छन्।

‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधिमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षण दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टाइन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

शाक्यले सरकारले सुरुमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै काठमाडौं महानगर र सम्पूर्ण उपत्यकावासीले उपत्यकालाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उपत्यका बासीको सहनशीलता लाई स्वागत गरेका छन्।

काठमाडौं महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसम्म १० वटा टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनाको पीसीआर टेस्टिङ गरिसकेको पनि बताएका छन्।

‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा डिसइन्फेक्सन स्प्रे गर्ने र दैनिक ५ वटा टोलीले सो सम्बन्धी जनचेतनामूलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ उनले भनेका छन, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली परिचालन समेत गरेको छ।’

महानगरपालिका सँग प्राविधिक टोलीको अभाव रहेको भन्दै यस्तो अवस्थामा दैनिक २०–३० हजार मानिस दैनिक उपत्यका प्रवेश गर्ने र लुकेर बस्ने हो भने ट्रेसिङ गर्न समस्या हुने भन्दै यस्तो संवेदनशील विषयमा उपत्यका प्रवेश गर्ने नागरिक स्वयंलाई सूचना दिन आग्रह गरेका छन्।

विज्ञप्तिमा काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। ‘त्यस्तो समस्यामा परेका उपत्यकावासी लाई १०२ मा सम्पर्क गरी सेवा लिन पनि आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..