एसिड पिडितले १७ वटा अस्पतालमा निशुल्क उपचार पाउने

 

 

काठमाडौं । एसिड आक्रमण बढ्दै गएपछि सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारले १७ अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० साउनमा सम्बन्धित अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

संघीय संसद्का कानुन, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक समितिले १९ साउनमा एसिड पीडितको निःशुल्क उपचार व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसलगत्तै २६ साउनमा प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई उनीहरूको निःशुल्क उपचार व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

एसिडपीडितको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । धेरै दबाब दिएपछि बल्लतल्ल १–२ लाख रुपैयाँ सरकारले दिने गरेको थियो । उनीहरूको उपचारमै परिवारको जायजेथा सकिने गरेको थियो । अब भने पीडितले सरकारीस्तरबाटै उपचार पाउने भएका छन् ।

मन्त्रालयका अनुसार कान्ति बाल, परोपकार प्रसूति तथा स्त्रीरोग, शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन मानसिक अस्पतालमा निःशुल्क उपचार व्यवस्था मिलाइएको छ । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उनीहरूको उपचार हुनेछ ।

यसैगरी, कोसी, नारायणी, भरतपुर, डडेल्धुरा, भेरी र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पनि एसिडपीडितले निःशुल्क उपचार सुविधा पाउने भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एसिड आक्रमणमा परेका व्यक्तिलाई ती अस्पतालमा उपचार र औषधिको शुल्क लाग्नेछैन ।

एसिड पीडितहरुको तर्फबाट समाजसेवी उज्वलविक्रम थापाले निरन्तर रुपमा पैरवी गर्दै आएका थिए । उनले भने यो व्यवस्थापछि यस्तो प्रतिक्रिया दिएका छन्, ‘हुन सक्ने उपचार खोजेको होईन आवस्यक पर्ने सम्पूर्ण उपचार खोजेका हुन तेजाब आक्रमण भोगेका पीडितले सम्पुर्ण को ध्यानाकर्षण होस्।’

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..