
स्तब्ध ….!
अनि ..स्तब्ध !!
देशका लागि भोकभोकै
बलिदानी गर्नेहरू
पसिना पुछ्दै
आफ्नो पालो पर्खेरै
शहीद बनिसक्छन्
पार्टी कार्यालयका पेटीहरूमा !
अचेल ऊ
गमलाको माटो खोस्रेर
कृषि क्रान्तिको उदाहरण दिन्छ !
नकली श्रममा विज्ञापित भई
“कृषि अभियानमा लागौं साथी हो !” भन्ने
नारा फलाक्छ !
धनिया, लसुन र प्याज उम्रेको
फोटो पोस्ट्याउँदै
सामाजिक सञ्जालमा,
पसलबाटै ल्याएर भए पनि
एक – दुई थुङो काउली उचालेर
आफ्नो कद तन्काउँछ !
त्यसो त
भिरपाखामै स्याउला लाछ्दै हुर्केको ऊ –
हल गोरु नारेरै छिप्पिएको हो
उसको इन्द्रेणी बैँस !
त्यो सुदुर जन्मथलोले
कहिले भनेको थियो र उसलाई
कृषि अभियान नथाल्न
उसकै पसिनामा तङ्ग्रीने
विवश खँडेरी पाटोहरूले
कहिले भनेका थिए र उसलाई
गुन्टा कस्न !
बाबियोका मुठामुठा हुँदै
गुन्द्रीको तानसँगसँगै बाँधिएको
सुन्तलीसितको
मायाको अमुल्य डोरी
निसंकोच निर्लज्ज
छिनाल्यो उसले !
किनकि
उसको असीमित सपनाको
महत्वाकांक्षी सुनौलो तुईन बन्न
कहाँ सक्थि र
दुखको पर्म –
मेलो पधेँरोमै जकेडिएकी
भिरफूल सुन्तली !!
नाम्लो थाप्लोबाट छुट्नु ,
चाँदे -फालीको अङ्गालोबाट
अलग्गिनु नै
मुक्ती हो भन्ने उसको बुझाइ
अनुत्तिर्ण भयो त्यतिबेला
जव गाउँ छोडेर ऊ
शहरशहर भड्किँदा पनि
जीवनले निश्चित टुंगो भेटेन।
ज्याद्रो मान्छेको
रगतमै मिसावट हुन्छन्
शकुनी चाल अनेक !
लामो फड्को मारेको छ आज
उसको विजयी रफ्तारले,
फुर्सद पटक्कै हुन्न उसित अचेल !
ताराहरूले आकाश नछोड्दै
विविध दलका नेताहरूको
दैलो कुर्नु,
दिन छिप्पिएपछि
श्रमिकहरूसित
आफ्नो रकमी कारखानामा
कुम जोडे झैँ गर्नु
एकादुई भरौटे काखी च्यापी
साँझको मातसितै
हुईँक्याउँदै दरवारमार्गतिर
शौकतको मर्सेडिज
महँगा चुस्कीमा रम्नु
यस्तै छ दिनचर्या अचेल !
कुनै पार्टी या
कुनै वर्गभित्र म छैन
राजनीति गर्दिन भन्छ ऊ !
निश्चित विचार बोकेर
सिद्धान्तको निर्विकल्प घेराभित्र
स्वाभिमानी जीवन गुजार्नेहरूलाई
निर्धक्कैले
“यी पार्टीको झोले हुन् ।” भन्छ ऊ !
फलामकै गिँड खेली खेली
खोटोकै पापड बेली बेली
चाम्रिएका उसका मसलमै
चाम्रिएका छन् समवेदनाहरू पनि !
तरतरी आँसुसितै निचोरिनुपर्छ
महिना खप्टिसक्दा पनि
श्रमको ज्याला लिन उसित
श्रमिकहरूले !
निमोठ्छ मन सहजै निमुखाको
पिउँछ तिनका स्वच्छ भावना तनतनी
जिब्रो फट्कारेर
सामन्ती प्याला हो ऊ !
बुझिनसक्नु कुरो छ फेरि ;
उसकै भागमा पर्छ्न्
माथिल्ला टेन्डरजति !
उसैले हत्याउँछ पटक पटक
विशेष नियुक्ति –
आयोगी पद प्रतिष्ठा !
स्तब्ध ….!
अनि ..स्तब्ध !!
देशका लागि भोकभोकै
बलिदानी गर्नेहरू
पसिना पुछ्दै
आफ्नो पालो पर्खेरै
शहीद बनिसक्छन्
पार्टी कार्यालयका पेटीहरूमा !
ऊ पुग्छ तत्काल
मौन धारण गर्न पुगिसक्छ
लामबिना नै गरिसक्छ उसले
औपचारिकताहरू पुरा..
शहीदको तस्बीरमा
माल्यार्पण पनि !
हरेक मन्त्रालय
सचिवालयदेखि
बेरोकटोक जहाँ पनि पुग्नसक्ने
कुनै पार्टी या दलमा नभएको
ऊ एउटा निर्दलीय मान्छे !!
** **
One thought on “निर्दलीय मान्छे”
Comments are closed.
पदम भण्डारीsays:
जुनसुकै पदमा पनि फीट हुनसक्ने अलौकिक प्रतिभाको धनी देशको एकमात्र सम्धी । निर्दलिय मान्छे ।