प्रधानमन्त्रीकै जिम्मा अर्थ र सञ्चार मन्त्रालय

प्रधानमन्त्री

भदौ २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।

शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।

अर्थ मन्त्रालयबाट बिदाइ

राजीनामा दिने दिन मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका स्रोतका अनुसार मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाउन सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउन पर्ने समय भएकाले आफ्नो कार्यकाल बढी नै चुनौतीपूर्ण रहेको खतिवडाले बताएका थिए ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।

मन्त्री खतिवडाले आफूले जग बसालेर छाडेको र त्यसलाई निरन्तरता दिने जिम्मेवारी कर्मचारीमा समेत रहेको धारणा राखेका थिए । अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्य रहेर २ वर्षसम्म र संसद सदस्य नरही ६ महिना गरी करिब साढे दुई वर्ष अर्थ मन्त्रालयको नेतृत्वमा रहे । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि विवादमा परी राजीनामा दिएपछि २०७६ फागुन ८ गतेदेखि उक्त मन्त्रालय पनि खतिवडाले सम्हाल्दै आएका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..