कोरोनाको मारमा कुखुरापालन व्यवसाय, पलायन हुने अवस्थामा चितवनका व्यावसायी

भरतपुर । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।

भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कुखुरा पालेको ४५ दिन भयो, रु एक सयमा पनि बिक्री भएको छैन ।” आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उहाँले बताउनुभयो । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । ढकालले आफ्नो खोरमा एक हजार कुखुरा राख्नुभएको छ । “रु ७० मा खरिद गरेर चल्ला राखेको हो, अहिले कुखुराको मूल्य नै रु एक सयभन्दा बढी छैन”, उहाँले भन्नुभयो, “दाना, औषधि र श्रमदान खेर गयो ।” “कुखुरा यतिकै फाल्न भएन, यो लटमा कम्तीमा पनि रु तीन लाख घाटा हुने निश्चित भयो”, उहाँले गुनासो गर्नुभयो ।

भरतपुरका अर्का कुखुरापालक किसान प्रकाशबाबु खनालले ब्वायलर पालक किसानको अवस्था नाजुक रहेको बताउनुभयो । “जिउँदो कुखुरा रु एक सयमा पनि बिक्री भएको छैन”, उहाँले भन्नुभयो, “किसान ऋणमा चुर्लुम्म डुबेका छन् ।” उहाँले बिचौलियाको बिगबिगी कायमै रहेको भन्दै कुखुरा लगेर भण्डारण गरिरहेको दाबी गर्नुभयो । “किसानको बजारमा पहुँच छैन, बिचौलियाकै भरमा बेच्नुपर्ने बाध्यता छ, अनि कसरी मूल्य पाइन्छ रु”, उहाँको प्रश्न छ ।

खनालको खोरमा यतिबेला पाँच हजार ब्वायलर कुखुरा छन् । “हिजो गएको बुधबार मात्रै आफँै रु एक सयमा चार गाडी कुखुरा बेचेँ ।” उहाँले भन्नुभयो, “रु एक सयमा पनि लैजान आनाकानी भइरहेको छ ।” एक किलो कुखुराको सरदर लागत मूल्य रु दुई सय पर्छ तर लागत मूल्यभन्दा आधा सस्तोमा बेच्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । कतिपय किसानले त रु ८० देखि ८५ सम्ममा पनि कुखुरा बेचेको खनालले बताउनुभयो । “मैले कुखुरा पालेको १० वर्ष भयो, यति सस्तो मूल्यमा बिक्री भएको यो पहिलो पटक होला”, उहाँले अनुभव सुनाउनुभयो । हरियो तरकारीको भन्दा पनि सस्तो मूल्य कुुखुरा बिक्री गर्नु परेको उहाँको भनाइ छ ।

नेपाल कुखुरा पालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेल ब्वायलर पालक किसान निकै मारमा परेको बताउनुहुन्छ । उहाँका अनुसार कोरोनाका कारण शुरुमा लगाइएको लकडाउन खुल्ने समयमा कुखुराको भाउ ह्वात्तै बढ्यो । उहाँले भन्नुभयो, “चल्ला सस्तो थियो । लकडाउनले घरमै बसिरहेको अवस्था भएकाले धेरै किसानले कुखुरा राखे । अहिले ब्वायलरको उत्पादन बढ्यो । पुनः जिल्ला जिल्लामा गरिएका निषेधाज्ञाले बजार ठप्प भयो । किसानको खोरबाट कुखुरा उठेनन्”, उहाँले भन्नुभयो ।

लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्वायलर कुखुराको मूल्य प्रतिकेजी रु २६० सम्म पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मूल्य राम्रो देखेर कतिपय किसानले कुखुरा राखेका कारण अहिले उत्पादन धेरै भएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “मागभन्दा उत्पादन धेरै भएको कारणले गर्दा अहिले आएर मूल्य घट्यो ।” होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएका, विवाह, व्रतबन्ध लगायतका अन्य उत्सवहरु पनि घरको कोठामा सीमित भएका कारण पनि खपत घटेको अध्यक्ष पौडेलको भनाइ छ ।

चितवनमा मात्रै सङ्घमा आबद्ध दुई हजार ब्वायलर कुखुरा पालक किसान छन् । “सामान्य किसानले थोरै लगानीमा ब्वायलर कुखरा पाल्छन्, उनीहरुलाई बजारको अवस्थाका बारेमा थाहा हुँदैन”, उहाँले भन्नुभयो, “मारमा पर्ने पनि उनीहरु नै हुन् ।” कुखुरा व्यवसायमा बिचौलियाको राज हुनु किसानमाथि उठ्न नसक्नुको प्रमुख कारण भएको उहाँको भनाइ छ । किसानको खोरमा सस्तोमा कुखुरा उठाएर व्यवसायीले स्टोर गरेर राखेको पौडेलले बताउनुभयो । कुखुराको भाउ र बजार नपाउनुमा ५० प्रतिशत कारण लकडाउन र अन्य बिचौलिया लगायतको कारण भएको उहाँले बताउनुभयो ।

काठमाडौँमा अहिले पनि प्रतिकेजी रु १८० सम्म जिउँदो कुखुरा बिक्री भइरहेको भन्दै उहाँले चितवनलागायत तराईका जिल्लामा प्रतिकिलो रु एक सय सम्ममा बिक्री हुन पनि गाह्रो भएको बताउनुभयो । “काठमाडौँ र तराईमा रु ३० सम्म मात्रै फरक हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “यति धरै फरक कसरी भयो रु बुझ्न सकिएको छैन ।” पछिल्लो लकडाउन अघि चितवनलगायत तराईका जिल्लामा जिउँदो कुखुरा प्रतिकेजी रु २६० र काठमाडौँमा रु तीन सय सम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “उत्पादक र उपभोक्ताबीच अझै पनि मूल्यमा धरै फरक छ । किसानबाट उठाएका कुखुरा एक सयसम्म नाफा राखेर बेच्न सकिन्छ तर व्यापारीले आफू अनुकूल गर्छन् । पोल्ट्री क्षेत्रमा सरकारी निकायको अनुगमन छैन, व्यावसायीले आफ्नो मनलाग्दी गर्छन् ।” देशभर २० हजारभन्दा बढी ब्वायलर पालक किसान मात्रै रहेको सङ्घको तथ्याङ्क छ ।

सङ्घको पहलले मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै उहाँले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्वायलरको बजार स्थायित्व छैन । घरबार बेचेर ऋण तिर्न परेपछि धेरै किसान यस क्षेत्रबाट पलायन भएका छन् । साना र मझौला किसान कहिल्यै पनि माथि उठ्ने अवस्था छैन ।”

मासुजन्य वस्तु बिक्री वितरण शहर र बजार खुकुलो भएमा केही मात्रामा किसानले मूल्य पाउने उहाँको भनाइ छ । अध्यक्ष पौडेलले भन्नुभयो, “सधैँ किसानले मात्रै घाटा खानुपर्ने यो अवस्था कहिले अन्त्य हुन्छ रु” “नेपाली बजारमा खपतको तुलनामा उत्पादन कम छ”, उहाँले भन्नुभयो, “तर किन किसान पलायन हुनुपर्ने अवस्था आउँछ भन्ने विषयको खोजी सम्बद्ध निकायले गरोस् ।” कुखुरा बजार व्यवस्थापन सङ्घले डेढ वर्षदेखि कुखुराको न्यूनतम मूल्य निर्धारण गर्न छाडेको छ ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले यो हप्ता मात्रै २५ प्रतिशत चल्ला नष्ट गरको बताउनुभयो । अघिल्लो हप्ता ५० प्रतिशतसम्म चल्ला नष्ट गरिएको थियो । बिक्री र मूल्य नपाएपछि उनीहरुले चल्ला ह्याच नगरी नष्ट गरेको उहाँले बताउनुभयो । कुखुराको कारोबार ह्वात्तै घटेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गरिएको उहाँको भनाइ छ । ब्वायलर कुखुराको मासु बिक्री हुन छाडेपछि चल्लाको मूल्य पनि ह्वात्तै घटेको छ । सङ्घले तोकेको मूल्यभन्दा पनि निकै कममा कारोबार भइरहेको छ । कुखुरा बिक्री नभएपछि चल्लाको माग पनि कम छ ।

अध्यक्ष पोखरेलले भन्नुभयो, “निषेधाज्ञाले सबै ठप्प छ, किसानको खोरबाट कुखुरा उठेको छैन, मासु बिक्री गर्ने पसल खुल्न पाएका छैनन ।” किसानले चल्ला नहालेपछि नष्ट गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । “चल्ला लगेर ४५ दिनसम्म दाना खुवाएर पाल्दा रु एक सय पनि पाउन मुस्किल भएपछि कसले कुखुरा पाल्छ रु” उहाँले भन्नुभयो, “त्यही भएर अहिले चल्लाको बिक्री कम भएको हो । अहिले हामीले रु ३० मा चल्ला बिक्री गरिरहेका छौँ ।” चल्लाको लागत नै ५६ पैसा पर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “लागतभन्दा आधा कममा कारोबार भइरहेको छ ।” देशभर ३२४ ह्याचरी उद्योग छन् । चितवन र नवलपुरमा मात्रै १३० उद्योग छन् । देशभर हप्ताको ३० लाख चल्ला उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष हरि लोहनीले बजारमा मासु बिक्री नभएका कारण समस्या भएको बताउनुभयो । “उत्पादन ह्वात्तै बढ्यो तर बजार ठप्प छ”, उहाँले भन्नुभयो, “अनि कसरी भाउ पाउँछ ।” होटल रेष्टुरेन्ट बन्द हुँदा खाने मान्छे घेटेका कारण बिक्री कम भएको उहाँले बताउनुभयो । किसानको खोर मूल्य न्यूनतम प्रतिकेजी रु ८० देखि एक सय सम्ममा कुखुरा उठाइरहेको लोहनीले बताउनुभयो । पछिल्लो निषेधाज्ञा अघि जिउँदो कुखुरा प्रतिकेजी रु।२७० सम्म पुगेको थियो । किसानको कुखुरा खोरबाट उठिरहेको तर भाउ भने नपाएको उहाँले बताउनुभयो । काठमाडौँमा मासु स्टक गर्न थालिएका कारण पनि कुखुरा बिक्री हुन समस्या नरहेको उहाँको भनाइ छ ।

सोह्र श्राद्ध शुरु भयो, फेरि मलमासको कुरा छ, दशैँमा पनि अवस्था यस्तै होला जस्तो छ । कुखुराको बजार के हुन्छ भन्ने नै अन्योल छ । कार्तिक नलागेसम्म
ब्वायलर कुखुुराको मूल्यमा समस्या नै भइरहने उहाँको बुझाइ छ । चितवनका किसानले उत्पादन गरेको कुखुरा काठमाडौँ, वीरगञ्ज, बुटवल, पोखरालगायत बजारमा बिक्री हुन्छ ।

आत्मनिर्भर बन्दै गएको पोल्ट्री व्यवसायमा हुने उतारचढावले साना लगानीकर्ताहरु पलायन हुने अवस्था सिर्जना हुँदै गएको छ । विगतमा बर्डफ्लु, भूकम्प लगायतका कारण पनि समय समयमा किसानले समस्या व्यहोर्नु परेको थियो । तर अहिलेको अवस्था त्योभन्दा पनि भयावह बनेको छ । कोरोनाको कहरले मुलुकको अरू क्षेत्र र व्यवसायलाई पनि मारमा पारेकै छ । तर यहाँका कुखुरापालक किसानहरु भने देशको अरु क्षेत्रभन्दा यो व्यवसायलाई बढी मार परेको बताइरहेका छन् ।
–कृष्ण आचार्य

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..