कोरोना भाइरस : सरकारी प्रयोगशालामा पनि शुल्क तिरेर परीक्षण गर्न पाइने

कोरोना भाइरस

भदौ २२, काठमाडौं । सर्वसाधारणले शुल्क तिरेर जुनसुकै बेलामा पनि सबै सरकारी प्रयोगशालामा कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार अब शुल्क तिरेर सबै प्रयोगशालामा परीक्षण हुनेछ, तर दैनिक गरिने कुल परीक्षणको आधा मात्रै शुल्क लिएर गर्न पाउने गरी निर्णय गरिएको जनाएको छ ।

सरकारले लक्षण देखिएका, सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका र अग्रपङ्क्तिमा खटिनेहरुलाई भने निस्शुल्क कोरोनाभाइरस परीक्षण गर्ने गरेको छ।

अब सङ्क्रमण भएरनभएको यकिन गर्नका लागि परीक्षण गर्न खोज्ने सबैले सबै सरकारी प्रयोगशालाबाट शुल्क तिरेर परीक्षण गर्न पाउने छन्।

यसअघि काठमाडौं उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालका प्रयोगशाला एवं हरेक प्रदेशमा एउटा सरकारी प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको थियो।

त्यसका अतिरिक्त १३ वटा निजी प्रयोगशालामा पनि सशुल्क परीक्षण गर्न अनुमति दिएको थियो।

सरकारको पछिल्लो निर्णयको लाभ सङ्क्रमण देखिएर १४ दिन आइसोलेशनमा बसेकाहरूले पनि लिन पाउने भएका छन्।

हाल सरकारले आइसोलेशनपछि परीक्षणविना नै घर पठाउने व्यवस्था लागु गरेको छ।

परीक्षण रिपोर्टविना नै घर जाँदा त्यसले ढुक्क हुने अवस्था नहुने र समाजले पनि प्रश्न उठाउने गरेकाले विवरण आएका थिए।

सरकारले कोरोनभाइरस परीक्षणको शुल्क अधिकतम ४,४०० रुपैयाँ तोकेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..