नेकपामा स्थायी कमिटिको बैठक अध्यक्षद्वयको प्रस्ताव पास गर्दै सम्पन्न, कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रिय समितिको बैठक गर्ने निर्णय


भदौ २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको प्रस्ताव प्रस्ताव पास गरेको छ ।

अध्यक्षद्वयले गरेको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली सरकारलाई प्रभावकारी कामका लागि केन्द्रित हुने निर्णय गरेको छ र अध्यक्ष प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको छ । यस अघि भएका निर्णयहरु दृढतापूर्वक कार्यान्वय गर्ने जानकारी पनि प्रवक्त श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

त्यस्तै गरी नेकपा केन्द्रिय समितिको बैठक कार्तिक १५ गते देखि १७ गतेसम्म बस्ने निर्णय पनि स्थायी समिति बैठकले गरेको छ ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि नै कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गरेर के–के संशोधन गर्ने भन्ने निर्णय गरिनेछ ।

भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पनि नेकपाले निकालेको छ । सरकारलाई यो विषय अझ प्रभावकारी ढंगले अघि बढाउने सुझाव पनि बैठकले दिएको छ ।

सरकारले कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा बैठकले लिएको प्रवक्ता श्रेष्ठले बताए । अझै व्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै पार्टी एकताको रक्षा गरेर विचारको बहस गर्दै पार्टीलाई वैचारिक रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । अध्यक्षले पार्टीलाई सांगठनीक रुपमा पनि अझ बढी मजबुत र रुपान्तरणका लागि आधार प्रदान गर्न आजको बैठक सफल भएको बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..