कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिँदै

कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिँदै 1

भदौ २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको सरकारले लगाउन सकेको छैन ।

आज प्राधिकरणका कर्मचारीले घिसिङलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियर सेवाबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते हालका नेकपाका अध्यक्ष प्रचण्ड तत्कालीन प्रधानमन्त्री र तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

तत्कालिन उर्जामन्त्री राधा ज्ञावालीले चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानेर जिम्मेवारीविहीन बनाएकी थिइन । कुलमान घिसिङ खुला प्रतिस्पर्धामार्फत प्राधिकरणको नेतृत्वमा आएका थिए ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

सरकारले कुलमानलाई नदोहोर्‍याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्‍याउन दबाव छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।

अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे ऊर्जा मन्त्रालय केही बोलेको छैन भने उर्जामन्त्री वर्षमान पुनले रोल्पामा गएर कुलमान घिसिङले नै निरन्तरता पाउने बताएका थिए । कानुनी रुपमा कुलमान घसिङलाई पुनः नियुक्ति दिन कुनै कानूनी बाधा अड्चन छैन । ऊर्जामन्त्रालय भने कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गर्ने मनस्थितिमा छ ।

विद्युत प्राधिकरण ऐनको दफा १७मा प्राधिकरणको कार्य सञ्चालनको निमित्त मुख्य प्रशासकीय अधिकृतको रुपमा समितिले एकजना महाप्रवन्धक र आवश्यकता अनुसार सल्लाहकार र कर्मचारीहरु नियुक्ति गर्न सक्ने व्यवस्था छ । साधारणसभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्ति गर्ने ऐनको व्यवस्था छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने गरी प्रक्रिया पनि सुरु गरेको छैन । यसका कारण कुलमान दोहोरिने वा नदोहोरिने भन्ने निश्चित हुन सकेको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..