सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमान पुनर्नियुक्ति हुन सक्ने

भदौ २९, काठमाडौं । मन्त्रिपरिषद्को नियमित सोमबार बस्ने बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेको उर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उच्च स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ।

पहिलेदेखि नै प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्षमा रहेको भए पनि प्रधानमन्त्री ओलीले रुची नदेखाएको उच्च स्रोतको दाबी रहेका छ।

राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुलमानलाई दोहोर्‍याउन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो।

प्रधानमन्त्री ओली भने आफूले भारतसँग विद्युत किन्ने सम्झौता गरेकै कारण लोडसेडिङ हटेको भए पनि त्यसको सबै जस एउटा कर्मचारीले लिन खोजेको भन्दै कुलमानसँग असन्तुष्ट बनेका छन्।

‘कुलमानलाई नियुक्त गर्ने र उनलाई काम लगाउने सरकार खराब हुने अनि उनी चाहिँ ठीक कसरी हुनसक्छन्। अहिले जसरी प्रचार गरिएको छ,यो सबै कुलमानले आफ्ना पक्षमा लबिङ गरेका हुन्,’प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो,’उहाँको पुनःनियुक्ति हुन सक्छ। तर जसरी पनि हुनैपर्छ भनेर सामाजिक सञ्जालमा प्रचार हुनु गलत हो।’

कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ। लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जनमानसमा कुलमानको लोकप्रिय छन्।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ।

गौतमको नाम सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने गौतम निकट सचिवालय स्रोतले जानकारी दिएको छ।

भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीमा आफू रहेको बताएका थिए। त्यस्तै स्थायी कमिटिको बैठकले पनि उक्त प्रस्ताव अनुमोदन गर्दै छिटो निर्णय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..