आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा धाउन तथा भनसुन गर्न नपाइने

काठमाडौं । नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा धाउन तथा भनसुन गर्न नपाउने भएका छन् ।

नेपाल प्रहरीले जारी गरेको आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ मा संगठनको नियमित प्रक्रियामा असर पु-याउने गरी कोही कसैलाई दबाब दिन वा प्रभावित गर्न निषेध गरिएको हो । कुटनीतिक व्यक्तिसँग भेटघाट गरेर भनसुन गर्न लगाउन पनि रोक लगाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले बताउनुभयो ।

कुनै तेस्रो व्यक्तिमार्फत प्रभाव विस्तार गर्ने उद्देश्य वा फाइदाका लागि कुनै विदेशी नागरिकसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न पनि निषेध गरिएको उहाँले बताउनुभयो । कार्यादेशमा प्रहरी कर्मचारी व्यवसायिक प्रायोजनबाहेक अन्य कारणले मन्त्री वा अन्य सरकारी अधिकारीलाई भेट्न नहुने भनिएको छ ।

कार्यालय प्रायोजनले भेटघाट तथा समन्वय गर्नु परेमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने भनिएको छ । विभागीय अधिकारीसँगको भेटका लागि पनि सिलसिलेवार रुपमा रिपोर्ट गर्नुपर्ने भनिएको छ ।

आफ्नो जिम्मेवारी तथा व्यवसायिक गोपनीयता कायम गर्न पनि भनिएको छ । कुनै प्रहरी कारबाहीका क्रममा बल प्रयोग गर्नुपर्ने भए आवश्यकताअनुसार जवाफदेही भएर न्यूनतम बल प्रयोग गर्नुपर्ने भनिएको छ ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संगठनका पदाधिकारी वा अन्य व्यक्तिसँग भेट गर्दा अनुमतिलाई अनिवार्य गरिएको छ । भेट भइसकेपछि छलफल भएका विषयबारे संस्थागत प्रयोगका लागि अभिलेख राख्नुपर्ने भनिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..