अधिकमास अर्थात् पुरुषोत्तम मास आजदेखि सुरु

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास आजदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ ।

एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ ।

यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि अधिकमास मनाउन लागिएको हो ।हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।

हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवम् राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..