आइपीएल क्रिकेटमा चेन्‍नइलाई १६ रनले हराउँदै राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० मा राजस्थान रोयल्सले विजयी शुरूवात गरेको छ। मंगलबार राती सम्पन्न खेलमा चेन्‍नइ सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो।

२ सय १७ रनको लक्ष्य पछ्याएको चेन्‍नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र बनाउन सक्यो। मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको साझेदरी गरेका थिए। वाटसन ३३ र विजय २१ रन जोड्दै पवेलियन फर्के।

११४ रन जोडेर पाँच विकेट गुमाएको अवस्थामा चेन्‍नइका डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि १९ औं ओभरमा आउट भए। उनले बिष्फोटक पारी खेल्दै ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे।

महेन्द्रसिंह धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्। उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे।

राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। आर्चर, गोपाल र करनले १/१ विकेट हात पारे।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनायो। राजस्थानलाई विशाल योगफलमा पुर्‍उन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे। युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन जोडे। ​स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए।

त्यस्तै, ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ रनमा बनाए। दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्‍याए। जसमा जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे।

चेन्‍नइका पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए। रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए। दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए।

साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए। राजस्थानका सञ्जु स्यामसन म्यान अफ द म्याच चुनिए।

जितसँगै राजस्थान २ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने चेन्‍नइ दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै चौथो स्थानमा झरेको छ।

चेन्‍नइले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ। राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिष्पर्धा हुनेछ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..