एमाले–माओवादीबीच कुरा मिलेन, ९ गते एकताको सम्भावना न्युन

काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ मा एकता हुने सम्भावना न्युन हुँदै गएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको एकता संयोजना समितिको बैठकले विवादित विषयमा टुङ्गो लगाउन नसकेपछि वैशाख ९ मा एकता हुने सम्भावना न्युन हुदै गएको हो ।

बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिन्भयो ।

प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता रोकिएको श्रेष्ठले बताउनभयो । श्रेष्ठले एकता वैशाख ९ मा हुने भनेर घोषणा नै नभएको दाबी समेत गर्नुभयो ।

त्यस्तै एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले चुनाव चिन्हमा कुनै विवाद नरहेको बतााउनुभयो । यसैगरी उहाले पार्टी नेतृत्वमा फिफ्टीफिप्टीमा कुरै आएको नआएको दाबी गर्नुभयो ।

एकताका लागि अधिकांश विषय कार्यदलले टुंग्याएपनि केही विषयमा भने अझै सहमति बन्न नसकेको हो । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिको संख्यामा हिस्सेदारी विषयमा कुरा मिलेको छैन ।

एमालेले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्नुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले त्यसलाई स्वीकारेको छैन । त्यस्तै एकीकृत पार्टीको बन्ने २९९ सदस्यीय कार्यसमितिमा माओवादी केन्द्रले बराबरीको हिस्सेदारी खोजेको छ । त्यसैगरी एकीकृत पार्टीको विधान र राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द ब्याख्यासहित राख्नुपर्ने अडान माओवादी केन्द्रले गर्दै आएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..