वर्षाका कारण देशभरको जनजीवन प्रभावित, स्याङजा र पाल्पामा पहिरो, १४ जना बेपत्ता

काठमाडौं । लगातारको वर्षाकाकारण देशभरको जनजीवन प्रभावित भएको छ । देशभर पानी परिरहेको छ ।

स्याङजा र पाल्पामा गएराति पहिरो जाँदा १ जनाको मृत्यु भएको छ, १४ जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।

घर पुरिँदा ६ जना बेपत्ता भएका छन । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको छ ।

त्यस्तै स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ , ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ । वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा गएराति फेरि पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनकाअनुसार राति लेदोसहित पहिरो खसेकाकारण सडक अवरुद्ध भएको हो । सोही स्थानमाहिजो दिउँसो खसेको पन्छाएर साँझ ७ बजेदेखि सडक सञ्चालन गरिए पनि फेरि पहिरो खसेको हो ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौबीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर गएराति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमाल्याइएको हो।

हिजोदेखि परेको अविरल वर्षाले पर्वतका विभिन्न ठाउँमा पहिरोले बस्ती जोखिममा परेको छ । जिल्लाको जलजला गाउँपालिका– ८ फर्सेमा एक घर पुरिएको छ भने २५ घर विस्थापित भएका छन् ।

वडाध्यक्ष हरि विकास जिसीकाअनुसार बस्तीभन्दा ५ सय मिटरमाथिको लक्ष्मीनारायण सामूदायिक वन क्षेत्रबाट आएको पहिरोले मानवीय वस्तीमा असर पुराएको हो । पहिरो आउन थालेपछि स्थानीयले घर छोडेर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको जिसीले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..