बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढिपहिरो पीडितलाई रु. नौ लाख सहयोग

असोज ८, काठमाडौं । बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस हजार आर्थिक सहयोग गरेको छ ।

पोर्चुगलमा रहेका नेपाली समुदायबाट सङ्कलन भएको रु आठ लाख ढोरपाटन नगरपालिकाका बाढीपहिरोमा परेर ज्यान गुमाउने २३ परिवार र घर क्षति भएका ७३ परिवारलाई रु आठ हजारका दरले आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।

यसैगरी समाजले जैमिनी नगरपालिकाका ज्यान गुमाउने तीन परिवारलाई रु १५ हजारका दरले तथा पूर्ण रुपमा घर क्षति भएका सात परिवारलाई रु नौ हजारका दरले आर्थिक सहयोग गरेको छ । त्यस्तै तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

“कोभिड–१९ ले आक्रान्त बनाएको अवस्थामा आफैं जन्मेको, हुर्केको ठाँउमा प्राकृति प्रकोपले झनै पीडा थपेको समयमा पीडितको दुखेको घाउमा मलम लगाउने हेतुले प्रवासी नेपालीहरुको माझमा अभियान सञ्चालन गरि आर्थिक सहयोग गर्न सफल भएका छौ”, उहाँले भन्नुभयो ।

स्थानीय प्रतिनिधि एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिसकेको संस्थाका सल्लाहकार सूर्य हमालले जानकारी दिनुभयो ।

–भगवान गिरी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..