अविरल वर्षाले भरतपुर अस्पताल डुवानमा

असोज ८, चितवन । यहाँको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पु¥यायो भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।

अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भएपनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन ।

अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो “जेनेरेटर लगाएर पानी फाल्दा पनि फाल्ने ठाउँ छैन । ” पानी पर्न नरोकिएसम्म विकल्प निकाल्नै कठिन भएको अधिकारीले जानकारी दिनुभयो ।

वर्षेनी सो क्षेत्रमा डुवानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ । अधिकारीका अनुसार करिब रु। १२ करोड खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ ।
अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुवानमा परेका छन् । भतरतपुर महानगरपालिका वडा नं। १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन् ।
RSS

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..