नियमित विद्युत पाउनु जनताको अधिकार हो, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गर्नुस् : ऊर्जामन्त्री वर्षमान पुन

असोज ८, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएका हुन् ।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भनेका छन् ।

‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’ भन्दै मन्त्री पुनः विद्युत प्राधिकरणका उच्च पदाधिकारीहरुसँग कड्किएका छन् ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

मन्त्रीले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’ मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..