सिन्डिकेट खारेजीविरुद्ध यातायात व्यवसायी आन्दोलित, सवारी साधन ग्यारेजमा थन्काइने

काठमाडौ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले यातायात समितिहरु खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महासंघले देशभर रहेका करिब ४ सय समितिहरु खारेजीको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले आफुहरुले कुनै पनि स्थानमा सिण्डीकेट खडा नगरेको दाबी पनि गरेको छ ।

यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम अघि सारेका छन् । उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोण सभा गर्ने जनाएका छन् ।

व्यवसायीहरुले वैशाख १२ र १३ गते तालिका फ्री छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन् । त्यस्तै १६ गते यातायात कार्यालय घेराउ गर्ने, २१ गते गाडी ग्यारेजमा थन्क्याउने, २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्क्याउने लगायतका कार्यक्रम रहेको महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

सरकारले आफ्ना माग सुनुवाई नगरे वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने महासंघले चेतावनी दिएको छ । यातायात व्यवसायी समितिहरु कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयन गर्न नसकिने र समिति खारेजीको निर्णय आफूहरुलाई मान्य नहुने महासंघले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..