केराउ तस्करलाई समात्न खोज्दा भएको थियो प्रहरीको हत्या..

काठमाडौं । नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने गिरोहले कैलालीमा २ जना प्रहरी कर्मचारीको हत्या गरेको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको अनुसन्धानबाट केराउ तस्करको समूहले कैलालीका २ जना प्रहरीको हत्या गरेको खुलेको हो ।

शनिबार राति सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि खटिएका धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार शव फेला परेको थियो ।

असई विकसँगै मोटरसाइकल गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको भने मंगलबार मोहना नदीमा गाडीको अवस्थामा शव फेला परेको थियो ।

घटनापछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाले हत्या गरेको स्वीकारेका छन् । हत्या गरेको स्वीकार्नेहरु नेपाल–भारत सीमा क्षेत्रमा केराउ तस्करी गर्ने व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले २ जना प्रहरी कर्मचारीको हत्या गर्ने हत्यारा पक्राउ परेको जानकारी दिए । उनीहरु केराउ तस्कर गर्ने व्यक्ति भएको र तस्करी रोक्दा असई विक र जवान साउँदको हत्या गरेको सिंहको भनाइ छ ।

प्रहरीका अनुसार शनिबार राति एउटा गाडामा राखेर नेपालबाट भारततर्फ केराउ तस्करी गर्न लागिएको थियो ।

असई विक र जवान साउँदले गाडा नियन्त्रणमा लिएपछि गाडामा रहेका व्यक्तिले अन्यलाई पनि बोलाएका थिए । त्यसपछि घेरा हालेर उनीहरुले दुवै प्रहरी कर्मचारीमाथि आक्रमण गरेका थिए ।

प्रहरी हिरासतमा रहेका आरोपीले घरेलु हतियार लाठी तथा घाँटीमा कोदाली (फरुवा) प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..