कोरोना परीक्षण र संक्रमितको उपचार खर्च नव्यहोर्ने सरकारको निर्णय लज्जास्पद : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरसको परीक्षण र संक्रमितको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने भनी सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भन्दै नि:शुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेका छन्।

सभापति देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो निर्णयबाट सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार र कर्तव्य विमुख देखिएको उल्लेख गरेका छन्।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएकाले सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्नेमा देउवाले जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ।”

देउवाले नेपाल सरकार र प्रधानमन्त्रीलाई कोरोना परीक्षण र संक्रमितको उपचार नागरिक आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम नि:शर्त, भेदभावविना र निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

अहिलेको विषम परिस्थितिमा जनताको जीवन कष्टकर भएको भन्दै यसतर्फ पनि संवेदनशील भई जनताको हितमा काम गर्न ध्यानाकर्षण गरिएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..