प्रदर्शनकारीले भने– ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार ?

काठमाडौ । सरकारले प्रदर्शनका लागि निश्चित स्थान तोकेको विरोधमा नागरिक अगुवाले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

डाक्टर गोविन्द केसीको नेतृत्वमा शनिबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । राजधानीको माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सरकारले प्रदर्शन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेपछि सो निर्णयको विरोध गरिएको हो ।

ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर लगायत नारा सहितका प्ले कार्ड प्रदर्शनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाए । प्ले कार्ड सहित प्रदर्शनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाउनुभयो ।

नागरिकको मौलिक हकमा प्रहार गर्दै सरकार निरंकुश बन्दै गएको भन्दै उहाँले त्यो आफुहरुलाई सैह्य नहुने बताउनुभयो । उहाँले निर्णय फिर्ता नभएसम्म माईतीघर मण्डलमा प्रदर्शन जारी राख्ने चेतावनी पनि दिनुभयो ।

प्रदर्शनकारीले विगतमा निश्चित स्थानलाई मात्रै निषेधित क्षेत्र घोषणा गर्ने सरकारले अहिले सबै स्थानमा रोक लगाउदै प्रदर्शन, सभाका लागि निश्चित स्थान तोक्नुले पञ्चायत र राणा शासन भन्दा पनि बढी निरंकुश बन्दै गएको स्पष्ट भएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले बैशाख १६ गते देखि लागु हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तीनकुने खुल्ला चौर कोटेश्वर, भुईखेल चौर भगवान पाउ, पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैन चौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रदर्शन गर्न रोक लगाइएको जनाएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..