ओलीको उपहारः प्रतिनिधि सभा विघटनको एक महिना पूरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको एक महिना पुरा भएको छ ।

पार्टीको आन्तरिक विवादलाई सुल्झाउन नसकेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नका लागि गत पुस ५ मा राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।

करिब दुईतिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीको कदमबाट सिर्जित संकटका कारण देश कता जाने हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।

नेपाली राजनीतिका विभिन्न पाटाहरुले पनि आगामी दिनमा कस्तो रुप लिने हो भन्नेबारे अझै अन्यौल छ। प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नागरिक समाज पनि सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको नेकपा, नारायणमान विजुक्छेको नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेपकिपा) र पूर्वपञ्चहरुको पार्टी राप्रपा मात्रै अहिलेसम्म चुनावको पक्षमा उभिएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपासहितका विभिन्न दलहरु चरणवद्ध आन्दोलनमा छन्।विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै दलहरु चुनावमा जाने वा नजानेमा पनि अन्यौलमा छन् । संसद विघटनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..