
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा कोटा प्रणाली हटाएको छ ।
लाइसेन्सको अनलाइन आवेदन दिन सास्ती हुने भएपछि विभागले आजबाट कोटा प्रणाली हटाएको हो । अब जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने छन् ।
विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट जति पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरूले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे ।
अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ ।