मोबाइल सेवाको गुणस्तरका विषयमा अनुगमन हुने

काठमाडौं । मोबाइल सेवाको गुणस्तरका विषयमा धेरै गुनासो आउनथालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन योजना अगाडि बढाएको छ।

देशका मुख्य सहर, ग्रामीण र हाइवे क्षेत्रका उपभोक्ताले कस्तो मोबाइल भ्वाइस र डाटा प्रयोग गरिरहेका छन् भनेर प्राधिकरणले तीनवटा प्रदेशको ३ हजार किलोमिटर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्नलागेको हो।

उपभोक्ताले प्राधिकरणले तोकेअनुसारको भ्वाइस र डाटा सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भनेर सेवा गुणस्तर जाँच गर्न लागिएको प्राधिकरणले जनाएको छ।

यसअनुसार हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवाको गुणस्तर परीक्षण गरिनेछ। सेवा गुणस्तर परीक्षणको लागि तीनवटा प्रदेशमा ३ हजार किलोमिटर क्षेत्र छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो ।

परीक्षणको लागि प्रदेश १, २ र गण्डकीका ९ वटा सहर र त्यसवरिपरिका क्षेत्रहरु छनोट गरिएको छ। जसअनुसार प्रदेश १ मा विराटनगर, बिर्तामोड र इलाममा एक हजार ५० किलोमिटर क्षेत्र परीक्षण गरिनेछ।

त्यस्तै, प्रदेश २ मा जनकपुर, धरान र वीरगन्जको एक हजार किलोमिटर क्षेत्रफलमा र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्कीको ९ सय ५० किलोमिटर क्षेत्रफलमा यस्तो परीक्षण गर्न लागिएको हो।३ हजार किलोमिटर क्षेत्र छनोट गर्दा यससँग जोडिएका सहरी, गाउँ, हाइवेलाई मिलाइएको अर्यालले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..