अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगमा आजपनि सुनुवाइ जारी रहने

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमा आजपनि सुनुवाइ जारी रहनेछ । संसदमा दर्ता भएको महाभियोगमाथि हिजोबाट सुनुवाई सुरु भएको हो ।

अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । जसअनुसार सुनुवाइका पक्षमा ५६ र विपक्षमा ४४ मत खसेका छन्।
बीबीसीका अनुसार सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ट्रम्पकै पार्टी रिपब्लिकनका पनि ६ जनाले मतदान गरेका छन्।योसँगै ट्रम्पविरुद्धको महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको हो।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शासन सत्ता सम्हाल्नुअघि उहाँको जितको प्रमाणीकरण गर्न यही जनवरी ६ तारिखका दिन सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद् भवनभित्रै आक्रमण गरेका थिए। जसमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उहाँविरुद्ध अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा महाभियोग दर्ता गरिएको हो। जुन त्यहाँबाट पारित भएर माथिल्लो सदनमा लगिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..