छोएर पढाउँदा बुझाउन सजिलो हुने भन्दै शिक्षा अधिकारीले नै यौन दुर्व्यवहार गरेपछि…

बर्दिया । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख ज्ञानमणी नेपालको विरुद्ध यौन दुर्व्यवहार आरोपको मुद्दा दर्ता भएको छ । पीडित पक्षले कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले पीडित बालिका र अभिभावकले जाहेरी दरखास्त दिएपछि मुद्दा दर्ता गराएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख जनक भट्टराईले मुद्दा दर्ता भएपनि इकाइ प्रमुख भने पक्राउ नपरेको जानकारी गराएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका सम्बन्धित कर्मचारीले विहान १० बजेदेखि मोटरसाइकलमा हिडेपछि उनी सम्पर्कमा नआएका बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख भट्टराईले उनको खोजी कार्य जारी रहेको बताएका छन् ।

इकाइ प्रमुख नेपाललाई समन्वय इकाइको क्वाटरमा हिसाब सिकाउने बाहानामा यौन दुर्व्यवहार गरेको एक बालिकाले आरोप लगाएकी हुन् । १५ बर्षिया बालिका फुपुकोमा केही दिन बस्न भनेर गत बिहीबार आएकी थिइन् । उनको फुपु सोही कार्यालयको कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्दथिइन् ।

विद्यालय छुट्टी भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर इकाइ प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको फुपुले बताएकी छन् । फुपु खाना पकाउनका लागि किचनमा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बाहनामा छेउमा बसेको बालिका बताइन् । पीडित बालिकाले भनिन् –‘पढाउने बाहनामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गर्नुभयो, म पानी पिउँछु भनेर चुक्कुल खोलेर भागें ।’

पीडित बालिकाकी फुपुले बालिका पछि किचनमा आएर रोएको बताइन् । गलत कार्य गर्ने मनसायले व्यवहार गरेको प्रष्ट देखिन्छ उनले भनिन् ‘सही मनसाय थियो भने पढाउने समयमा किन भित्रबाट चुक्कुल लगाईयो ? पढाउँदा अंगालो हालेर पढाउनु पर्छ भन्ने छ र ?’ पीडित बालिकाको आमाले दोषीलाई कारवाही हुनुपर्ने बताएकी छन् । उनले भनिन् –‘निश्पक्ष छानविन गरी दोषी उपर कारवाही हुनुपर्छ ।’

दूर्व्यवहारको आरोप लागेका प्रमुख नेपालले आफु निर्दोष भएको बताउँदै आएका छन् । उनले बुझाइको फरक परेको बताउँदै शरीरमा छोएर पढाउँदा नजिकपन बढ्ने र पढाईमा सकरात्मक असर पर्ने भन्दै आफु नजिकिन खोजेको बताए । उनले भने ‘मैले बच्चालाई बढी माया गर्ने र पढाउन खोजेको कारणले म फसेँ । मेरो कुनै गलत धारण होइन खाली बच्चालाई पढाउन खोजेको कारणले मेरो चरित्रमाथि दाग लगाउन खोजिएको हो । ’

यौनदुर्व्यवहारको आरोप लागेको इकाइ प्रमुख ज्ञानमणी नेपालले बुझाइको फरक परेको बताए । शरीरमा छोएर पढाउँदा नजिक पन बढ्ने र पढाईमा सकरात्मक असर पर्ने भन्दै आफु नजिकिन खोजेको बताए यौन दुर्व्यवहारको आरोपको खण्डन गर्दै नेपालले भने–‘मेरो गलत मनसाय थियो भने पानी पिउँछु भनेर उठ्दा जबरजस्ती तान्ने थिएँ होला त्यो त गरिन नि ?’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..