सन्दर्भ आज सुखानी शहीद स्मृति दिवस : सहिदको सपनामाथि खेलबाड नगर्न योद्धाहरुको खबरदारी

फागुन २१, झापा । नेपाली कम्युनिष्ट आन्दोलन लाई सशक्त बनाएर नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन कम्युनिस्ट सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन् ।

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिष्ट नेताहरु शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता अहंकार, घमण्ड, भ्रष्टचार, सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ ।

झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा (एमाले)बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनि सकेका छन् । नेकपा (एमाले)बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बनेकिछन् । विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष नै छन् । विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसके भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसके ।

तत्कालीन नेकपा (माओवादी)का तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउछन् ।

पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन् । विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको वैधानिक पर्खाइमा रहेको छ ।

जुटिसकेको नेकपा फेरि नेताहरुको वैयक्तिक महत्वाकाङ्क्षा र टक्करका कारण विभाजनको सङ्घारमा पुगेको ठहर गर्दै कम्युनिष्ट आन्दोलनमा लामो समय जेलनेल व्यहोरेका झापाली योद्धाहरु नेताहरुले शहीदको सपनाबाट अन्यत्र नमोडिन खबरदारी गर्छन्। “हामीले आन्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्यौँ, तर नेताहरुमा भएको सामन्ती सोच, शैली र व्यवहार फाल्न सकेनौँ”, झापा विद्रोहमा लागेर १४ वर्ष कठोर कारावास भोगेका नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरेश खरेल भन्छन, “शहीदको सपना नेताहरुलाई सत्तामा पुर्याउनु मात्र थिएन ।”

उनले झापा आन्दोलनको सपना मानिएको गणतन्त्रको स्थापना भइसके पनि मुलुकलाई समाजवादतिर नलगेसम्म शोषित पीडित समुदायले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए। शहीदको बलिदान राजनीतिक व्यवस्थाको परिवर्तनका लागि मात्र नभएर गरिब जनताको हितमा समतामूलक शासन ल्याउन भएको बताउँदै झापा आन्दोलनका अगुवामध्येका नेता खरेल सुखानीका शहीदको अधुरा सपना पूरा गर्नेतर्फ डटेर लाग्न खबरदारी गरिरहेका छन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..