आफ्नो गृहजिल्लामा औद्योगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेलमाथि स्थानीयको ढुङ्गामुडा, मन्त्री कार्यक्रम छाडेर हिँडे

फागुन २१, बुटवल । आफ्नो गृह जिल्लामा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयबासीले ढुङ्गामुडा गरेका छन् । उनलाई रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका हुन् ।

ठूलो सुरक्षा घेराबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएर हिँडेका थिए ।

अर्थमन्त्री पौडेललाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो । प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए । मोतीपुरका स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए ।

‘स्थानीयको माग सम्बोधन नगरी औद्योगिक क्षेत्रको काम अघि बढ्न सक्दैन’ न्यौपानेले भने, ‘सरकारले पूरा गर्नुपर्ने सबै प्रक्रियासमेत पूरा नगरी राजनीतिक स्वार्थका लागि हतारमा शिलान्यास गर्नु आपत्तिजनक छ, हामी अवरोध गर्छौं ।’

औद्योगिक क्षेत्र संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालले आफूहरुले संरक्षण गरेको जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयको माग सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । उनले घना वस्ती भएको क्षेत्रमा औद्योगिक क्षेत्रको सट्टा पर्यटकीय स्थल र पार्कहरु बनाइनुपर्ने बताए ।

औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन । यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..