संसदको हिउँदे अधिवेशन आइतबारबाट शुरु हुँदै

फागुन २२, २०७७ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । सरकारले संसद विघटन गरी पुन सर्वोच्च अदालतले पुनस्र्थापना पश्चात् विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ ।

कोरोना भाइरस महामारीका कारण भन्दै यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा सङ्घीय संसदमा विधेयकको चाप छ ।

सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।

विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् । दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा सन्देशसहित पठाएका विधेयक सङ्ख्या दुई छ ।

सन्देश भने पेस हुन बाँकी रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन् ।

यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन् । प्रतिनिधि सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी विधेयक सङ्ख्या एक मात्र छ ।

सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् । सङ्घीय संसदले हालसम्म छवटा सन्धि तथा सम्झौता पारित गरिसकेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..