नीराका बनस्पति कला

काठमाडौं । कलाकार परिवारमा जन्मिएकी नीरा जोशी प्रधान (१९६७) बनस्पतिका चित्र बनाउने एक प्रतिभाशाली कलाकार हुन् । बनस्पति कला (बोटानिकल आर्ट) मा उनले साढे दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएकी उनी नेपालका प्रसिद्ध कलाकार रामानन्द जोशीकी छोरी हुन् । एमएस्सी बोटनीको अध्ययन गरी नीराले विज्ञान र कलाको संयोजन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । उनले प्रकृतिलाई सुन्दर ढंगले अभिव्यक्त गर्दै आएकी छन् ।
उनका कलामा प्रकृतिको यथार्थतासँगै भावनात्मक मनोवेग पनि कलात्मक रुपमा उधिनिएको पाइन्छ । उनका कलामा सिर्जनाको लयात्मक गति भेटिन्छ, भावनाको गहिरो उद्वेगलाई समेटिएको पाइन्छ । खासगरी उनले बनस्पतिका विभिन्न रुप र पक्षलाई कलामा संयोजित गर्दै प्रकृतिको अनुपम सुन्दरतालाई पस्किँदै आएकी छन् ।
‘बोटानिकल आर्ट’ मा बनस्पतिको प्राकृतिक रुप र त्यसको विशेषता झल्किने गरी काम गर्नुपर्ने बताउँदै उनले यसमा कला र वैज्ञानिक पक्ष सशक्त ढंगले आउनुपर्ने बताउँछिन् । उनले बनस्पति विज्ञान आफ्नो रुचिको विषय भएकाले लामो समयदेखि यसै क्षेत्रमा काम गर्दै आएको सुनाइन् । उनले भनिन्, ‘बोटानिकल आर्ट बनाउनका लागि प्राविधिक पूर्णता र वैज्ञानिक ज्ञानको आवश्यक पर्दछ । जीवन्त चित्रकला बनाउनु, मृत सामग्रीबाट वैज्ञानिक चित्रण गर्दै कला र बनस्पतिप्रति प्रेम दर्शाउनु चुनौतीपूर्ण काम हो ।’ उनले कलामा प्रकृतिका बनस्पतिलाई उतार्नु र त्यसमा सौन्दर्य भर्नु चुनौतीपूर्ण भए पनि कलाकारका नाताले त्यसमा सफलता पाउँदै गएको जिकिर गरिन् ।
कलाकार नीराले भनिन्, ‘म प्रकृतिसँग नजिक छु र यस प्राकृतिक संसारको सौन्दर्य र सत्यको ज्ञान बुझ्न र साझा गर्नका लागि खोजको बाटोमा हिडिरहेको छु । यस अवस्थामा मेरो चिन्ता सँधै हुनेछ । यदि हामी आफ्नै प्राकृतिक सम्पदाको बारेमा सोच्दैनौं, कुरा गर्दैनौं र कल्पना पनि गर्दैनौं भने र भावी पुस्तालाई यसका बारेमा थाहा भएन भने के हुन्छ ?’ उनले दुई सय वर्ष पहिले काठमाडौं उपत्यकामा पत्ता लागेका थुप्रै बनस्पति पश्चिमी विज्ञानका लागि नयाँ भएको सुनाउँदै त्यसले नेपालको प्रकृतिको विविधतालाई चिनाउने बाटो तय गरेको बताइन् ।
त्यसपछि जैविक विविधता र बनस्पतिमा नेपाल पनि अध्ययन गर्नुपर्ने स्थलको रुपमा रहेको संसारलाई जानकारी पाएको जनाउँदै उनले कलामार्फत तिनको सौन्दर्यकरण गर्नु कलाकारको दायित्व भएको विचार व्यक्त गरिन् ।
यही अप्रिल ६ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा कलाकार नीराका नेपाल तथा विदेशका विभिन्न बनस्पतिका कलाकृतिको प्रदर्शनी हुँदैछ । जसमा उनले नेपालमा फुल्ने स्वदेशी, रैथाने, तथा केही विदेशी बनस्पतिका चित्र राख्दै छन् । उनले भनिन्, ‘मैले स्वदेशी र विदेशी बनस्पति छनौट गरेको छु । जुन सांस्कृतिक, ऐतिहासिक र सामाजिक अर्थमा निकै महत्वपूर्ण छन् ।’
उनको कला र विज्ञानको संयोजित ‘फ्लोरा फ्रम काठमाण्डु भ्याली’ १९९९ नेपालकै पहिलो वनस्पति कला प्रदर्शनी हो । त्यसयता उनी सक्रियताका साथ सिर्जनात्मक ढंगले बनस्पति कला बनाउँदै आएकी छन् । उनले म्यारी सेल्बी बोटानिकल गार्डेन, एफएल युएसएबाट २००२ मा बोटानिकल इलस्ट्रेटरको रूपमा प्रशिक्षण लिएकी छन् भने बोटानिकल आर्ट क्लासेस, एडिनबर्ग, रोयल बोटानिकल गार्डेन, युके २००७ मा समेत सहभागी भएकी थिइन् । कलाकार नीराले बेला बेलामा स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कलाकृति प्रदर्शनी गर्दै आएको छन् । सन् २००४ मा इन्टरनेसनल जुरिड बोटानिकल आर्ट एक्जिविसन २००४ एएसबिए, ‘बिसकोट २००७ युके लगायतका छन् । जुन प्रदर्शनीमा उनलाई एकमात्र नेपाली बोटानिकल कलाकारको रूपमा निम्ता गरिएको थियो ।
त्यस्तै, ‘फ्लोरा अफ नेपाल’ प्रदर्शनी नेपाल–बेलायतको सम्बन्ध स्थापित भएको दुई सय वर्षको अवसरमा २०१६ मा गरिएको थियो । त्यस्तै उनी १९औँ इन्टरनेसनल बोटानिकल कंग्रेस २०१७ चीन, शांघाई आर्ट कलेक्सन म्युजियम चीनमा २०१९ मा आमन्त्रित कलाकारका रुपमा सहभागी भएकी थिइन् । उनी ग्लोबल आर्टिस्ट मुभमेन्ट टोयोटा म्युनिसिपल म्युजियम आर्ट, जापानबाट २०१९ मा सम्मानित भइसकेकी छन् । त्यसैगरी, कलाकार नीरा वुहान इन्टरनेसनल बोटानिकल आर्ट अनलाइन प्रदर्शनी वुहान चीन र ‘फ्लोरिलेजियमः अ ग्यादरिङ अफ फ्लावोरस्’ आरबिजिई, एडिनबर्ग २०२० प्रदर्शनीमा समेत सहभागी भई नेपाली बनस्पति कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएकी छन् ।
त्यस्तै, उनलाई सन् २०२१ मा इटलीमा हुने ‘फ्लोरेन्स बिएनाले’ मा नेपालबाट सहभागी कलाकारको रूपमा आमन्त्रित गरिएको छ । यसमा उनलाई इटालियन वाणिज्य दूतावास र सिद्धार्थ आर्ट फाउन्डेशनको सहयोग गरेको गरेको छ ।
उनले नेपाली बनस्पतिको खोज तथा संरक्षणमा योगदान दिँदै आएकी छन् । ‘फ्लोरा अफ नेपाल’ भोलुम तीनमा वैज्ञानिक लेखरचनामा उनले बनस्पतिका रेखाचित्र बनाएकी छन् । उनले धेरै वर्षदेखि स्रोतव्यक्ति र सहजकर्ताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनस्पति कला÷दृष्टान्तचित्र कार्यशालामा सहभागी हुँदै र वनस्पतिका लेखक एवम् विभिन्न तहका विद्यार्थीका लागि सेवा प्रदान गर्दै आएकीे छन् ।
कलाकार नीराले वनस्पति विज्ञानमा स्नातकोत्तर विद्यार्थीका लागि वैज्ञानिक चित्रसहितको आधारभूत पाठ्यक्रमको विकास गरेकी छन् जुन पुस्तक ‘टेक्सोनोमिक टुल्स फर फ्लोरा राइटिङ’ (त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित) हो । यो विषय सन् २०१५ देखि नेपालमा पहिलो पटक पाठ्यक्रम सन्दर्भको रूपमा पढाउँदै आइएको छ । हाल, उनी बोटानिकल आर्ट र इलस्ट्रेसनका विषय विभिन्न तहका विद्यार्थी र इच्छुक कलाकारलाई आफ्नो स्टुडियो, स्कुल अफ बोटनिकल आर्ट, स्टुडियो पेटल्समा पढाउँदै आएकी छन् ।
नीरा प्राज्ञिक एवम् वैज्ञानिक ढंगले बोटानिकल आर्टमा आफ्नो विशेषज्ञता प्रस्तुत गर्दै अगाडि बढिरहेकी छन् । उनी आफ्नो काममा सिर्जनात्मक पक्षलाई ध्यान दिँदै त्यसमा आफ्ना अवधारणालाई गहन रुपमा प्रस्तुत गर्दै आएकी छन् । उनले विशेषगरी बनस्पतिको जैविक संसारको सत्यलाई उजागर गर्दै कलामार्फत आममानिसमा संप्रेषण गर्दै आएकी छन् । कलाकार नीराले आफ्ना अनुभव प्रकृतिबाट प्रेरित भएको बताउँदै आफ्ना काम समसामयिक नेपाली कलाको अनुपम अभिव्यक्ति रहेको विचार व्यक्त गरिन् । उनका चित्र प्रायः जलरङ र एक्रेलिक रङमा बनेको पाइन्छ ।
देवेन्द्र थुम्केली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..