ओलीको डण्डाको वर्षा भुसाल र पाण्डेलाई निलम्बन

चैत २०, काठमाडौं । देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको अभियोगमा सोमबार वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेका एमाले अध्यक्ष केपी ओलीले तीन दिनमै अरू दुई नेतामाथि पनि कारबाही गरेका छन् । उनले बिहीबार स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टी सदस्यताबाट निलम्बन गरेका छन् । भुसाल र पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले दुवैलाई बिहीबार निलम्बनको कारबाही गरेका हुन् ।

ओली समूहका केन्द्रीय सदस्य सहभागी बैठकले भुसाल, पाण्डेसहित वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ८ चैतमा स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले १२ चैतमा प्रतिस्पष्टीकरणसहित जवाफ बुझाएका थिए । नेता नेपाल र रावललाई ओलीले १७ चैतमा पार्टी सदस्यताबाट ६ महिना निलम्बनसहितको कारबाही गरेका छन् । तर, पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ नदिएको भन्दै १६ चैतमा दोस्रोपटक स्पष्टीकरण सोधिएकोमा १७ चैतमा उनीहरूले प्रतिस्पष्टीकरणसहित जवाफ फर्काएका थिए ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने चेतावनी दिँदै ओलीले पत्रमा दुवैलाई सच्चिनका लागि अन्तिम मौका दिइएको जनाएका छन् । ‘एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू ९प्रतिनिधिसभा सदस्यताबाहेक० तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ,’ कारबाहीको पत्रमा छ ।

त्यस्तै, पत्रमा भुसाल र पाण्डेमाथि पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सद्भाव र सहकार्यलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला गर्ने काम गरेको तथा उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको उल्लेख गरिएको छ । स्पष्टीकरणमा सोधिएअनुसार कमजोरी स्वीकार नगरेको, आत्मसमीक्षा नगरेको, आत्मालोचना नगरेको, आपराधिक मनोवृत्ति देखिएकोजस्ता आरोपसमेत उनीहरूलाई लगाइएको छ ।

निलम्बन पत्रमा आपराधिक क्रियाकलाप स्विकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने तथा विगतमा भए–गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो उल्टै प्रतिस्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको दाबी छ ।

घनश्याम भुसालको फेसबुक वालबाट जवाफ ओलीको बर्बादीको दुनियाँसँग माफी माग्छु
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।
उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।

सुरेन्द्र पाण्डे फेसबुक स्टाटस वालबाट जस्ताको तस्तै
यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो । गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ । हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ । घोषणा पत्र मार्फत गरिएको बाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्नेछौ । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौँ ।

नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..