संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चले – प्रचण्ड

चैत २०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको बताएका छन् । शुक्रबार मणिकलाल श्रेष्ठको श्रद्धाञ्‍जली कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याएर फेरि प्रतिगमनतिरै लाने षड्यन्त्र भएकाले त्यसविरुद्ध एक भएर जानुपर्ने बताए ।

‘अहिले जुन निरंकुशतातिर जाने षड्यन्त्र भइराखेको छ, नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याउने, फेरि प्रतिगमनतिर लाने षड्यन्त्र भएको छ,’ उनले भने, ‘त्यसका विरुद्ध एक भएर जाने, जरुरी पर्‍यो भने आन्दोलनमा फेरि त्यो तागत प्रदर्शन गर्ने संकल्प गर्नु नै मणिकलालप्रति सच्चा श्रद्धाञ्‍जली दिनु हो ।’ फेरि समाजलाई निरंकुशतन्त्रतिरै लैजाने कोसिस भएको र अव चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको प्रचण्डको भनाइ छ ।

‘मूल्यमान्यता, लोकतन्त्र या आन्दोलनका उपलब्धिले स्थापित गरेका मुद्दा या सहिदहरुले बगाएको रगत सबैको अपमान गर्ने र फेरि समाजलाई निरंकुशतन्त्रतिरै लैजाने षड्यन्त्र भएको छ,’ दाहालले भने, ‘यस्तोमा समाज हामी जहाँ आइपुगेका छौं, अब चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ । यस्तो बेला हामी त्यसका विरुद्ध खबरदारी गरेका छौं ।’

संसद् पुनःस्थापना भए पनि त्यस्तो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको उनको दाबी छ । ‘गत पुस ५ गते संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरियो । हामी त्यसका विरुद्ध सडकमा गयौँ । सिंगै नेपाली समाज आन्दोलन भयो । र अन्ततस् संसद् पुनःस्थापित भयो । तर फेरि त्यो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भएको छैन,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले अहिले संविधान, नियम, कानुनले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गरे । ‘अहिले तपाईं हामीले धेरै सुन्ने गरेको शब्द सेटिङ । देशभित्रका बाहिरका विभिन्न संवैधानिक निकाएका प्रमुखबीच सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने,’ उनले भने, ‘त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताका अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विडम्बनाको सामना गर्ने विचित्रको परिस्थितिमा हामी छौं ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगको विवाद व्यक्तिगत नभएर वैचारिक भएको दाहालको दाबी छ । ओलीले लिएको बाटो र आफूले लिएको बाटोको कतै तालमेल नुहँदा अहिलेको स्थिति सिर्जना भएको उनले बताए ।

‘तपाईंहरुले हेर्दा कम्युनिस्ट पार्टी फुट्यो । केपी र प्रचण्ड झगडा गरे भन्ने मात्रै देखिन्छ होला । तर य भित्र अन्तरनिहित वैचारिक विवाद हेर्नुभयो भने एउटाले सामन्त र निरंकुशतन्त्रको फाँसीवादको बाटो लिएको छ । एउटाले जनताको अधिकार र पहिचानको बाटो लिएको छ,’ दाहालले भने, ‘बाटोमा कहीँकतै भेटै भएन । यस्तो परिस्थितिमा फेरि सामावेशिता र समानुपातिकताको लागि, संविधान संशोधन र परिमार्जनका लागि, सबै उत्पीडित वर्ग समुदायको प्राप्त अधिकारको रक्षा र थप अधिकारका लागि एकजुट हुने संकल्प गर्‍यो भने मणिकलालप्रति श्रद्धाञ्‍जली गरेको सार्थकता हुनेछ ।’

अहिले प्रतिगमनतिरको यात्रा सरकारबाटै सुरु गरिएको भन्दै दाहालले त्यसलाई रोक्न संकल्प गर्नुपर्ने बताए ।

वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा चैत ३ गते निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सवादबारे गहन अध्ययन गरेका थिए । तीक्ष्ण स्मरणशक्ति भएको श्रेष्ठ इतिहासका तिथिमिति यकिनसाथ भन्न सक्थे । स्वर्गीय श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए ।

उनी त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा वामपन्थी आन्दोलन लागेका कारण गिरफ्तारमा परेर थुनिएसँगै उनलाई बर्खास्त गरिएका थिए । पछि त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..